रसुवाको पुकार : ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा, १५ भदौ । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि रसुवाको जनजीवन अझै सामान्य बन्न सकेको छैन। बाढी आएको छैटौँ दिनसम्म पनि जिल्लाका कतिपय प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको पहुँच पुग्न नसकेको स्थानीयवासीले गुनासो गर्नुभएको छ।

बाढीले सडक, पुल, विद्युत् र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएपछि उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन्। कतिपय स्थानमा शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र आफन्तहरू बेपत्ता परिवारजनको खोजीमा भौँतारिनुपरेको स्थानीयवासीले बताउनुभएको छ।

भदौ १० गते आएको बाढीपछि कतिपय ठाउँमा नागरिकहरू आफन्तको खोजीमा जंगल, खोल्साखोल्सी र नदी आसपासका क्षेत्रमा पुगिरहनुभएको छ। कतिपय घाइते अवस्थामा वा कतै फसेको हुन सक्ने आशंका रहे पनि उनीहरूको यकिन अवस्था पत्ता लाग्न नसकेको बताइएको छ।

स्थानीयवासीका लागि अहिले सबैभन्दा ठूलो प्रश्न बनेको छ—‘हामीलाई खोज्न र उद्धार गर्न को आउँछ ?’

टिमुरेदेखि रसुवागढीसम्म अझै चिन्ता

रसुवाकी पत्रकार अनु आचार्यले टिमुरेदेखि घट्टेखोला हुँदै रसुवागढीसम्मको क्षेत्रमा अझै धेरै मानिस सम्पर्कविहीन रहेको बताउनुभएको छ।

उहाँका अनुसार प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार टोली पठाएर ड्रोनबाट खोजी गर्न आग्रह गरिए पनि अपेक्षित रूपमा सुनुवाइ हुन नसकेको गुनासो छ।

‘टिमुरेदेखि माथि घट्टेखोला, रसुवागढीसम्मको सडक माथिको जंगल, कुनाकाप्चा र खोलाखोल्चीमा हेलिकप्टरबाट केही मानिस झारेर ड्रोनबाट एकपटक हेरिदिनुस् भनेर आग्रह गर्दा पनि प्रभावकारी काम हुन सकेन,’ उहाँले बताउनुभएको छ।

सम्बन्धित निकायबाट ‘सबैतिर टोली खटिएका छन्, काम भइरहेको छ’ भन्ने जवाफ आउने गरेको उहाँको भनाइ छ।

आफ्नो भाइसहित त्यस क्षेत्रमा रहेका अन्य व्यक्तिको अवस्थाबारे समेत चिन्ता व्यक्त गर्दै आचार्यले कम्तीमा एकपटक ती क्षेत्रमा विस्तृत खोजी गरिदिन आग्रह गर्नुभएको छ।

‘यदि त्यस क्षेत्रमा कोही अड्किनुभएको छ वा अचेत अवस्थामा हुनुहुन्छ भने उहाँले जीवन पाउनुहुनेछ भन्ने आशा हो,’ उहाँले भन्नुभएको छ।

‘रसुवाको ग्राउन्ड जिरोको वास्तविकता बाहिर आउन सकेन’

स्थानीयवासी तथा जलविद्युत् आयोजनाका प्राविधिक विनोद थिङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई रसुवा पुगेर वास्तविक अवस्था बाहिर ल्याउन आग्रह गर्नुभएको छ।

उहाँका अनुसार अहिलेसम्म रसुवाको ‘ग्राउन्ड जिरो’को वास्तविक अवस्था पर्याप्त रूपमा बाहिर आउन सकेको छैन।

‘मैले भेटेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई रसुवा जान अनुरोध गरिरहेको छु। रसुवाको ग्राउन्ड जिरोको वास्तविकता बाहिर आउन सकेको छैन,’ उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ।

उहाँले प्रत्येक परिवारको छुट्टाछुट्टै पीडा रहेको बताउँदै उद्धारका लागि आफूले जलविद्युत् आयोजनामा काम गर्दाको अनुभव उपयोग गर्न सक्ने जानकारीसमेत दिनुभएको छ।

माथिल्लो क्षेत्रमा राहत र उद्धारबारे चिन्ता

वैज्ञानिक समाजवादी पार्टी नेपालका नेता हिमांशुसहितको टोली धुन्चे पुगेको छ। उहाँले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सयौँ मानिस फसेको खबर आएको दाबी गर्नुभएको छ।

टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा कति मानिस जीवित छन् भन्ने यकिन तथ्यांकसमेत नरहेको उहाँको भनाइ छ।

उहाँले बाढी आएको पाँच दिनपछि मात्र कतिपय क्षेत्रमा राहत पुगेको दाबी गर्दै माथिल्लो क्षेत्रमा तत्काल खोज तथा उद्धार तीव्र बनाउन आग्रह गर्नुभएको छ।

‘रसुवाको अवस्था अत्यन्तै भयावह छ। सबै क्षेत्रबाट प्रयास गरौँ। इतिहासकै ठूलो अपराध हुनबाट राज्यलाई रोकौँ,’ उहाँले भन्नुभएको छ।

उहाँले माथिल्लो त्रिशूली क्षेत्रमा ठूलो संख्यामा मानिस पुरिएको हुन सक्ने आशंका व्यक्त गर्दै जीवनरक्षाका लागि तत्काल सबै सम्भव प्रयास गर्न आग्रह गर्नुभएको छ।

धुन्चेमै खाद्यान्न अभावको चिन्ता

बाढीपछि रसुवामा खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ।

धुन्चेस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कविराज प्रताप लामाका अनुसार पैसा तिरेर पनि खाद्यान्न किन्न कठिन हुने अवस्था सिर्जना भएको छ।

बाढीले रसुवा प्रवेश गर्ने विभिन्न पुलमा क्षति पुर्‍याएपछि चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास, पेट्रोल तथा तरकारीको आपूर्तिमा समस्या देखिन थालेको उहाँले बताउनुभएको छ।

‘एक–दुई दिनमा कुनै निकास नआए भयावह अवस्था हुन सक्छ,’ उहाँले चेतावनी दिनुभएको छ।

‘राहत लिएर आउनेलाई एकद्वारका नाममा नरोकौँ’

रसुवा पुगेर अवस्थाको अवलोकन गर्नुभएका नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले राहत वितरणलाई सहज बनाउन आग्रह गर्नुभएको छ।

उहाँले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाने व्यक्ति तथा संस्थालाई एकद्वार प्रणालीका नाममा रोक्नुभन्दा नाकामा अभिलेख राखेर सम्बन्धित स्थानीय तहसम्म पुग्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।

‘राहत बोकेर जाने व्यक्ति अथवा संस्थालाई एकद्वार भनेर नरोक्नुस्। नाकामा रेकर्ड राख्ने व्यवस्था मिलाउनुस् र कुन स्थानीय तहमा लैजाने हो, त्यसको जानकारी राख्नुस्,’ उहाँले भन्नुभएको छ।

स्थानीय तहको आग्रह : ‘बाँचेका रसुवालीलाई बचाइदिनुस्’

कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले सीमित स्रोतसाधनका कारण प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन कठिन भइरहेको बताउनुभएको छ।

उहाँका अनुसार स्थानीय तहसँग पर्याप्त एम्बुलेन्स, सवारीसाधन तथा स्वास्थ्य सुविधा नहुँदा गम्भीर बिरामीको उद्धारमा समेत समस्या भइरहेको छ।

उहाँले हेलिकप्टर उद्धार, पर्याप्त एम्बुलेन्स तथा आपत्कालीन सवारीसाधन, अस्पतालको क्षमता वृद्धि, वैकल्पिक सडक निर्माण र स्थायी स्वास्थ्य आपत्कालीन उद्धार प्रणालीको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

उहाँको आग्रह छ—‘बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्।’

सुरुङभित्र फसेकाको खोजी चुनौतीपूर्ण

रसुवाको विपत्तिमा जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजी अर्को चुनौती बनेको छ।

भोटेकोसी तथा त्रिशूली करिडोरमा रहेका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन रहेको र कतिपय सुरुङभित्र फसेको आशंका गरिएको छ।

उद्धार टोलीले विभिन्न स्थानमा खोजी गरिरहेको भए पनि कतिपय क्षेत्रमा सुरुङको प्रवेशद्वार तथा भित्री संरचनामै क्षति पुगेका कारण उद्धार कठिन भइरहेको बताइएको छ।

स्थानीयवासीले नेपाली सेना तथा सुरक्षा निकायको क्षमता मात्र पर्याप्त नभए विदेशी विशेषज्ञ र अत्याधुनिक प्रविधिको सहयोग लिनसमेत आग्रह गर्नुभएको छ।

सुरक्षा जनशक्ति थप गर्न माग

बेत्रावतीसम्म पुगेर राहत तथा उद्धारको अवस्थाको अवलोकन गर्नुभएका पत्रकार प्रकाश डुम्रेले रसुवाका विभिन्न प्रभावित क्षेत्रमा थप सुरक्षा जनशक्ति परिचालन गर्न आग्रह गर्नुभएको छ।

उहाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभएको छ।

‘अहिले भइरहेको जनशक्तिले मात्र धान्ने अवस्था देखिँदैन। संकटको घडीमा सुरक्षा फौजको परिचालनमा कमी हुन दिनु हुँदैन,’ उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ।

उहाँका अनुसार सामाजिक सञ्जालमा देखिएको रसुवाको अवस्था र वास्तविकता फरक छ। कतिपय स्थानमा नदी किनारमा शव अलपत्र रहेको तथा तिनको व्यवस्थापनका लागि समेत थप जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ।

राहतसँगै मनोपरामर्श आवश्यक

विपत्तिबाट प्रभावित नागरिकको शारीरिक उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

आफन्त बेपत्ता भएका परिवार तथा बाढीको प्रत्यक्ष भयावह दृश्य देखेका नागरिकमा मानसिक तनाव र त्रास बढेको बताइएको छ।

त्यसैले चिकित्सकसँगै मनोपरामर्शदाता तथा काउन्सिलिङमा दक्ष स्वास्थ्यकर्मीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने सुझाव दिइएको छ।

कतै राहत थुप्रिएको, कतै अझै अभाव

बाढी प्रभावित क्षेत्रमा राहत वितरण समान रूपमा हुन नसकेको गुनासो पनि आएको छ।

कतिपय स्थानमा राहत सामग्री पर्याप्त रहेको बताइए पनि सडक तथा सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा आवश्यक सामग्री पुग्न नसकेको स्थानीयवासीको भनाइ छ।

वर्षाका कारण सडक पुनः अवरुद्ध हुने जोखिम कायमै रहेकाले राहत तथा उद्धारको काम थप चुनौतीपूर्ण बनेको छ।

नदीपारिको अवस्था अझै अन्योलमा

बाढीले कतिपय क्षेत्रमा नदी वारिपारिको सम्पर्क नै विच्छेद गरिदिएको छ। क्षतिग्रस्त घर तथा संरचनाभित्र कोही फसेका छन् कि छैनन् भन्ने यकिन गर्नसमेत कठिन भइरहेको स्थानीयवासीले बताउनुभएको छ।

कतिपय मानिस अझै सम्पर्कविहीन रहेकाले वास्तविक क्षतिको विवरण संकलनमा समेत समस्या भएको छ।

अहिले रसुवाको प्रमुख समस्या नै तथ्यांकको अभाव, सञ्चार सम्पर्क विच्छेद, सडक अवरोध र प्रभावित क्षेत्रमा राज्यको सीमित पहुँच बनेको छ।

अब आरोपभन्दा उद्धारको आवश्यकता

रसुवामा सरकारी संयन्त्रले काम नै नगरेको भन्नुभन्दा विपत्तिको आकार उपलब्ध स्रोतसाधनभन्दा निकै ठूलो देखिएको अवस्थालाई ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्वयंसेवकहरू आ–आफ्नो क्षमताअनुसार उद्धार तथा राहतमा खटिनुभएको छ। तर अझै धेरै प्रभावित नागरिक राज्यको प्रत्यक्ष सहयोगको प्रतीक्षामा रहेको बताइएको छ।

त्यसैले अहिलेको प्राथमिकता आरोप–प्रत्यारोपभन्दा खोज तथा उद्धारलाई तीव्र बनाउनु, प्रभावित क्षेत्रमा राहत पुर्‍याउनु र बेपत्ता नागरिकको यकिन अवस्था सार्वजनिक गर्नु रहेको स्थानीयवासीको माग छ।

स्थानीयवासीले सरकार तथा सञ्चारमाध्यमलाई प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर वास्तविक अवस्था बुझ्न आग्रह गर्नुभएको छ।

‘सरकार र मिडिया यहाँ आइदिनुस्। रसुवाबासीको व्यथा आफैँ आएर सुनिदिनुस्,’ उहाँहरूको आग्रह छ।

भोटेकोसी र त्रिशूली किनारमा बाढीको त्रास अझै कायम छ। कतै आफन्तको खोजी भइरहेको छ, कतै शव व्यवस्थापन हुन सकेको छैन भने कतै राहतको प्रतीक्षा छ।

त्यसैले रसुवावासीको अहिलेको आग्रह स्पष्ट छ—सामाजिक सञ्जालमा उद्धार भइरहेको सूचना मात्र होइन, प्रभावित नागरिकको आँगनमै राज्यको उपस्थिति देखिनुपर्छ।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  २१ : ३५  बजे