बाढीपीडित भन्छन्– राहत पाएनौँ, सरकार भन्छ– ट्रक र हेलिकप्टरबाट पठाइरहेका छौँ

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी बाढी गएको पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा पर्याप्त राहत पुग्न नसकेको गुनासो आएको छ। सरकारले भने ट्रक, बोलेरो तथा हेलिकप्टरमार्फत निरन्तर राहत सामग्री पठाइरहेको दाबी गरेको छ।

रसुवाको गोसाईंकुण्ड नगरपालिका–३ की पेम्बा ल्हामु तामाङले बाढी गएको पाँच दिनसम्म पनि राहत नपाएको बताउनुभएको छ। घरमा रहेको खाद्यान्न सकिन थालेको र गाउँमा विद्युत्समेत नहुँदा दैनिकी कष्टकर बनेको उहाँको भनाइ छ।

‘अहिले त जसोतसो घरमै भएका खानेकुरा खाइरहेका छौँ। तर अब पनि राहत आएन भने बाढीमा बगेसरह हुन्छौँ,’ उहाँले भन्नुभयो, ‘बत्ती नहुँदा गाउँ नै अँध्यारो छ। बाटोघाटो सबै बगेका कारण कसैले भोकै जेलमा राखेको जस्तो भएको छ।’

गोसाईंकुण्ड नगरपालिका–२ र ५ का बासिन्दाले पनि खाद्यान्नको अभाव झेलिरहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार कतिपय ठाउँमा दालचामलसमेत अभाव भएको छ।

गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले आफूले निरन्तर प्रयास गरे पनि प्रभावित क्षेत्रमा राहत पुर्‍याउन नसकिएको बताउनुभएको छ।

‘सबैले राहत पुग्यो कि पुगेन भनेर सोध्नलाई मात्रै फोन गर्छन्। तर पठाउन कसैले पठाइरहेका छैनन्,’ उहाँले भन्नुभयो।

यस्तै, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले सुरुमा केही राहत आए पनि अहिले सकिइसकेको बताउनुभएको छ। विद्युत् र सडक अवरुद्ध हुँदा स्थानीयसँग नियमित सम्पर्कसमेत हुन नसकेको उहाँको भनाइ छ।

सरकारको दाबी– राहत निरन्तर पठाइँदैछ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट राहत सामग्री पठाइएको जनाएको छ।

प्राधिकरणका अनुसार हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। यस्तै, हेलिकप्टरमार्फत आठवटा उडानबाट पनि राहत सामग्री पठाइएको दाबी गरिएको छ।

भदौ १४ गते रसुवाका लागि पाँचवटा पोर्टेबल जेनेरेटरसहित खाद्य तथा गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाइएको प्राधिकरणले जनाएको छ। नुवाकोटमा पनि विभिन्न सवारीसाधन तथा हेलिकप्टरमार्फत राहत परिचालन गरिएको जनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले पनि राहत सामग्री संकलन गरी स्थल तथा हवाई मार्गबाट प्रभावित जिल्लातर्फ पठाइरहेको जानकारी दिनुभएको छ।

सरकारका अनुसार काठमाडौंमा संकलित राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र तथा बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयासम्म पुर्‍याइएको छ।

तर प्रभावित बस्तीमा पर्याप्त राहत पुग्न नसकेको स्थानीयको गुनासो छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले राहत सामग्री उपलब्ध भए पनि सडक अवरोध र प्रतिकूल मौसमका कारण आवश्यक मात्रामा प्रभावितसम्म पुर्‍याउन कठिन भइरहेको बताउनुभएको छ।

‘राहत सामग्री हामीसँग छ, पुर्‍याइ पनि रहेका छौँ। तर जति पुर्‍याउनुपर्ने थियो, त्यति मात्रामा पुर्‍याउन सकेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘बाढीले सडक सबै अवरुद्ध छ। मौसमका कारण निरन्तर हेलिकप्टर पनि उड्न सकेको छैन।’

उहाँका अनुसार हेलिकप्टर उडान भए पनि सीमित क्षमताका कारण ठूलो परिमाणमा राहत सामग्री एकैपटक पुर्‍याउन कठिन भइरहेको छ।

बट्टारमै थन्कियो राहत ?

नुवाकोटको बट्टार क्षेत्रमा राहत सामग्री बोकेका सवारीसाधन रोकिएका दृश्य देखिए पनि ती सामग्री प्रभावित बस्तीमा पर्याप्त रूपमा पुग्न नसकेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार राहत बोकेका अधिकांश सवारीसाधन नेपाली सेनाको मैथिल ब्यारेक आसपास रोकिने गरेका छन्। सडकको अवस्थाका कारण त्यसभन्दा अगाडि राहत सामग्री लैजान कठिन भएको उनीहरूको भनाइ छ।

बाढी प्रभावितका लागि राहत संकलनमा जुटेका स्थानीय अभिनव जोशीले सडकको अवस्थाका कारण राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउन समस्या भइरहेको बताउनुभएको छ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका राहत कार्यदल प्रमुख सहसचिव जगन्नाथ तिवारीले भने राहत प्रभावितसम्म पुगिरहेको दाबी गर्नुभएको छ।

‘हामीलाई कतै राहत नपुगेको जानकारी आएकै छैन,’ उहाँले भन्नुभएको छ।

यसरी सरकार र प्रभावित नागरिकका दाबीबीच राहत वितरणको अवस्थाबारे विरोधाभास देखिएको छ। एकातर्फ सरकारले ठूलो परिमाणमा राहत सामग्री प्रभावित जिल्लातर्फ पठाइएको तथ्यांक सार्वजनिक गरिरहेको छ भने अर्कोतर्फ प्रभावित बस्तीका नागरिकले आफूहरूले पर्याप्त राहत नपाएको गुनासो गरिरहेका छन्।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  २१ : १६  बजे