काठमाडौँ छिर्न र बाहिरिन यी हुन् वैकल्पिक मार्ग

काठमाडौं, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँ आउने–जाने सवारीका लागि वैकल्पिक मार्ग तय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै वैकल्पिक मार्गबारे जानकारी दिएको हो ।

सूचनाअनुसार १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँतर्फ जाँदा त्रिभुवन राजपथ प्रयोग गर्नुपर्नेछ । फर्किँदा भने कान्ति राजमार्ग हुँदै आउने व्यवस्था मिलाइएको छ ।

मौसम र सडकको अवस्थासहित यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेभित्र मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ ।

काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौँसँगको आवागमन प्रभावित भएको अवस्थामा प्रशासनले सवारीसाधनको आवागमन सहज बनाउन यी वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  २१ : २८  बजे