प्रधानमन्त्री राहत कोष प्रभावकारी भएन, एमालेले आफ्नै संयन्त्रबाट राहत वितरण गर्ने

काठमाडौं, १५ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपीडितको सहयोगार्थ स्थापना गरिएको प्रधानमन्त्री राहत कोष विश्वसनीय र प्रभावकारी बन्न नसकेको आरोप लगाउनुभएको छ।

कोषमा ठूलो रकम जम्मा भए पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको र बाढीपीडितसम्म सामान्य राहतसमेत पुग्न नसकेको उहाँको दाबी छ।

प्रधानमन्त्री राहत कोषमा व्यक्ति, संघ–संस्था तथा राजनीतिक दलहरूले रकम जम्मा गरिरहेका बेला एमालेले भने अहिलेसम्म रकम जम्मा गरेको छैन।

सोमबार एमालेको बागमती प्रदेश र राजधानी प्रदेश कमिटीले १०/१० लाख रुपैयाँ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन्। उक्त रकम तत्काल प्रधानमन्त्री राहत कोषमा जम्मा नगर्ने एमालेको तयारी छ।

एमाले अध्यक्ष ओलीले पार्टीका तर्फबाट बाढीपीडितका लागि १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताउनुभएको छ। उक्त रकम पार्टीकै संयन्त्रमार्फत राहत वितरणमा परिचालन गर्ने संकेतसमेत गर्नुभएको छ।

एमालेले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा नगर्ने हो भन्ने प्रश्नमा सचिव बस्नेतले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताउनुभएको छ। उहाँका अनुसार तत्काल संकलित रकम पार्टीकै कोषमा राखिनेछ।

‘प्रधानमन्त्री राहत कोष प्रभावकारी बन्न सकेको छैन। यसमा ठूलो धनराशि जम्मा भए पनि पीडितहरूले सामान्य राहत पनि पाउनुभएको छैन। घरभरि लुगा, वीरे नाङ्गै भनेजस्तो अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो।

उहाँले पार्टीले प्रधानमन्त्री राहत कोषमा रकम हाल्ने वा नहाल्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको स्पष्ट पार्नुभएको छ।

बस्नेतका अनुसार एमालेले १ करोड २० लाख रुपैयाँ संकलन गर्दासम्म प्रधानमन्त्री राहत कोष विश्वसनीय र प्रभावकारी रूपमा सञ्चालन भएको देखिएमा मात्रै उक्त रकम कोषमा जम्मा गर्नेछ।

‘यो कोष प्रभावकारी बन्यो भने हाल्ने हो। नत्र एमालेले आफ्नै संयन्त्रमार्फत रकम परिचालन गरेर राहत वितरण गर्न सक्छ,’ उहाँले भन्नुभयो।

प्रकाशित मिति: १५ भदौ २०८३, सोमबार  २१ : ४८  बजे