काठमाडौं, १५ भदौ । देशका विभिन्न स्थानमा सोमबार साँझदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायत जिल्लामा मध्यमसम्म वर्षा भइरहेको छ।
महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा स्याङ्जाको दण्डेश्वरमा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै गोरखाको आरुघाटमा ६२.४, रुपन्देहीमा ४६.८ र सिन्धुपाल्चोकको मेलम्चीमा २४.२ मिलिमिटर वर्षा मापन भएको छ।
हाल कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा भइरहेका र आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि यस्तै मौसम रहने अनुमान छ।
मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी र बागमती प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थान तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम र ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा भनिन्छ। १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।
त्यस्तै, १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतलाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतलाई ‘केही स्थान’, ५० देखि ८० प्रतिशतलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावनालाई ‘अधिकांश स्थान’ भन्ने गरिन्छ।







प्रतिक्रिया