काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ । तर, बाढी आउँदा आयोजनाको भूमिगत विद्युत् गृहमा ड्युटीमा रहेका तीन कर्मचारी अझै सम्पर्कविहीन छन् ।
नेपाली सेना, आयोजनाका इन्जिनियर तथा ड्रोन टोलीले सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गर्दा पनि मानवीय उपस्थिति फेला नपरेको जनाएको छ । सुरुङभित्र कोही नभेटिएपछि उद्धार टोली धुन्चे फर्किएको छ ।
तर, बाढी आउँदा भूमिगत विद्युत् गृहमा ड्युटीमा रहेका किशोर न्यौपाने (पाल्पा), सन्तोष पौडेल (प्युठान) र छिरिङ तामाङ (रसुवा) को अवस्था भने अझै अज्ञात छ ।
यसले सुरुङभित्र कोही नभेटिएको सेनाको दाबी र बाढीका बेला त्यही भूमिगत विद्युत् गृहमा ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था अज्ञात रहेको तथ्यबीच प्रश्न उब्जाएको छ—ती तीन कर्मचारी बाढीका बेला कहाँ गए ?
आयोजनाका एक अधिकारीका अनुसार बाढी आउँदा भूमिगत विद्युत् गृहमा तीन जना कर्मचारी ड्युटीमा थिए । प्लान्ट सञ्चालनमै रहेकाले उनीहरू नियमित सिफ्टअनुसार काममा खटिएका थिए ।
‘टनेलभित्र तीन जना, बाहिर गरेर जम्मा १४–१५ जना थिए होला,’ ती अधिकारीले भने ।
आयोजनामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म गरी दुई सिफ्टमा कर्मचारी परिचालन हुने गरेका थिए । बाढी आउँदा रातको सिफ्टका कर्मचारी भूमिगत विद्युत् गृहमा कार्यरत थिए ।
‘प्लान्ट चलिरहेको थियो । नाइट सिफ्टका कर्मचारी ७ बजे गएर त्यहाँ ड्युटी गर्थे, बिहान ७ बजेसम्म,’ ती अधिकारीले भने ।
बाढी आउँदा भूमिगत विद्युत् गृहमा रहेका तीन जनासँगै आयोजनाको बाहिरी क्षेत्रमा पनि कर्मचारी तथा श्रमिक कार्यरत थिए । स्विचयार्डतर्फ समेत रातको सिफ्टमा कर्मचारी खटिएका थिए ।
आयोजनाका अनुसार बाढीपछि ९३ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । तीमध्ये ४९ जना रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी हुन् ।
त्यस्तै, निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्लूईका चार जना र भेनस कन्स्ट्रक्सनका तीन जना पनि सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।
आयोजनाका अधिकारीका अनुसार बाहिरी क्षेत्रमा कार्यरत कर्मचारीमध्ये नाइट सिफ्टमा खटिएका कर्मचारीबाहेक सरसफाइमा दुई जना, दुई जना गार्ड, दुई जना कुक र एक जना इन्जिनियरसमेत थिए ।
‘टनेलभित्र तीन जनाको ड्युटी थियो । अरू बाहिर स्विचयार्डमा थिए । बाहिर बस्ने अर्का नाइट सिफ्टको कर्मचारी पनि ड्युटीमै थिए,’ ती अधिकारीले भने ।
आइतबारदेखि मात्रै खोजी
बाढी आएलगत्तै आयोजनामा फसेका तथा सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार तत्काल सुरु हुन सकेन । शनिबारसम्म उद्धार टोली आयोजनास्थलमा पुग्न सकेको थिएन । आइतबारदेखि मात्रै सुरुङभित्र खोजी सुरु गरिएको थियो ।
सुरुङको अन्तिम भागमा मानिस फसेको हुन सक्ने आशंकामा नेपाली सेनाको टोली इन्जिनियर र ड्रोनसहित सुरुङभित्र प्रवेश गरेको थियो ।
टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गरेको थियो । तर, त्यहाँ पनि मानिस फेला नपरेको सेनाको दाबी छ ।
आयोजनाका अधिकारीले पनि आफ्ना इन्जिनियर नेपाली सेनाको टोलीसँगै सुरुङभित्र गएको पुष्टि गरेका छन् ।
‘हाम्रै इन्जिनियरहरू पनि जानुभएको थियो, सेना पनि जानुभएको रहेछ,’ उनले भने ।
तर, बाढी आउँदा भूमिगत विद्युत् गृहमा ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । उनीहरू सुरुङबाट बाहिर निस्किएको वा अन्यत्र गएको पुष्टि हुने कुनै विवरणसमेत प्राप्त भएको छैन ।
यसअघि आयोजनाको भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये चार जना भने दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएका थिए । बाढीका कारण डिसेन्डर क्षेत्रमा फसेका उनीहरू कठिन परिस्थितिबीच सुरक्षित स्थानतर्फ निस्किएका थिए ।
उनीहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइसकेको छ ।
तर, भूमिगत विद्युत् गृहमा ड्युटीमा रहेका तीन कर्मचारीको अवस्था अझै अज्ञात छ । सुरुङको अन्तिम भागसम्म पुगेर खोजी गरिएको भनिए पनि उनीहरू कहाँ छन् भन्ने प्रश्न भने अनुत्तरित नै छ ।







प्रतिक्रिया