मन्त्रिपरिषद् बैठक : रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ, १० भदौ । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट तीन जिल्लामा ठूलो क्षति भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ती जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत आवश्यक कामका लागि फिल्डमै खटिनसमेत निर्देशन दिएको छ ।

सरकारले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन, प्रभावितको उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर काम अघि बढाउने जनाएको छ ।

प्रकाशित मिति: १० भदौ २०८३, बुधबार  १४ : ४१  बजे