हाम्रा बुबा (मेरो ससुरा) अम्बरकाजी खड्का इन्डियन आर्मीबाट रिटायर्ड हुनुहुन्छ । हेर्दै खाइलाग्दो, बलियो शरीर, फराकिलो छाती र जीवनभरको अनुशासनले बनेको व्यक्तित्व । उहाँलाई हेर्दा हामीलाई सधैँ लाग्थ्यो, बुबा केही कुरासँग सजिलै डराउनुहुन्न ।
समस्या आयो भने भाग्नुहुन्न, सामना गर्नुहुन्छ । अप्ठ्यारो आयो भने आत्तिनुहुन्न, मुकाबिला गर्नुहुन्छ । हामी छोराबुहारीका लागि बुबा केवल बुबा हुनुहुन्नथ्यो, उहाँ एउटा भरोसा हुनुहुन्थ्यो । यस्तो मान्छे, जसको छेउमा हुँदा आफूलाई जस्तोसुकै परिस्थितिमा पनि सुरक्षित महसुस हुन्थ्यो ।
त्यसैले आज जब हामीलाई भोटेकोशीको बाढीले उहाँहरूलाई बगाएको हुनसक्छ भन्ने सम्भावना सुनाइन्छ, हाम्रो मनले त्यो कुरा सजिलै स्वीकार गर्न मान्दैन । हामीलाई बारम्बार एउटै कुरा लाग्छ-यदि बुबाले बाढी आएको आफ्नै आँखाले देख्नुभएको भए, यदि उहाँलाई केही क्षण अगाडि नै खतरा महसुस भएको भए, उहाँले मम्मी (मनकुमारी खड्का)लाई त काँधमा बोकेर पनि पहाडतिर लैजान सक्नुहुन्थ्यो ।
जीवनभर कठिन परिस्थितिसँग जुध्न सिकेका बुबा त्यति सजिलै कुनै चिजसँग हार मान्नुहुन्न भन्ने विश्वास अझै मनमा छ । त्यसैले त हामी अझै पनि हार मानेका छैनौँ ।
अहिले पनि सामाजिक सञ्जालमा जंगलबाट, पहाडबाट, नदी किनारबाट भिडियो पठाइरहेका मानिसहरूको समूह देख्दा हामी एक–एक अनुहार नियालिरहेका छौँ । कतै त्यो भीडमा बुबाको अनुहार छ कि रु कतै मम्मी उहाँसँगै उभिनुभएको छ कि रु कतै कुनै अपरिचित ठाउँबाट उहाँहरूले “हामी यहाँ जीवितै छौँ” भनेर भिडियो पठाउनुभएको छ कि ? हरेक भिडियोमा हामी आफ्नो संसार खोजिरहेका छौँ । हरेक अनुहारमा बुबा–मम्मी खोजिरहेका छौँ ।
हामीलाई थाहा छ, यो आशा कमजोर हुन सक्छ । तर छोराछोरीका लागि आशा कमजोर हुँदैन । जबसम्म अन्तिम प्रमाण भेटिँदैन, जबसम्म आफ्नै आँखाले सत्य देखिँदैन, तबसम्म मनले हार मान्दैन ।
झन् एउटा कुराले हाम्रो मनलाई बारम्बार त्यतै तानिरहेको छ ।
भदौ १० गते बिहान ८ बजेर ५ मिनेटमा बुबाले कान्छो छोरा सुवास र ८ बजेर १० मिनेटमा ९० वर्ष पुग्न थाल्नुभएका आफ्नै बुबालाई अध्यागमन कार्यालयबाट भिडियो कल गर्नुभएको थियो । त्यो हाम्रो बुबासँग भएको अन्तिम सम्पर्कमध्ये एक हो । त्यसपछि हामीसँग उहाँको आवाज छैन । उहाँको अनुहार छैन । उहाँको खबर छैन । उहाँले बोजेको नेपाल टेलिकमको नम्बरको लोकेसन हेर्दा अहिले पनि टिमुरेमै देखाइरहेको छ ।
त्यही लोकेसन हेरेर हामी फेरि सोच्न बाध्य हुन्छौँ—बुबा आखिर टिमुरेमै हुनुहुन्थ्यो भने उहाँहरू कहाँ जानुभयो ?उहाँहरू त्यहाँबाट निस्किनुभयो कि निस्किनुभएन ? बाढी आउँदा कुन दिशातिर जानुभयो ? कसैसँगै सुरक्षित स्थानतिर पुग्नुभयो कि ? कतै उद्धारको प्रतीक्षामा हुनुहुन्छ कि ? कि भोटेकोशीको भेलले उहाँहरूलाई अरू कतै पुर्यायो ? हामीसँग प्रश्न मात्रै छन् । उत्तर छैन ।
घर उही छ, ढोका उही छ, आँगन उही छ, भान्सा उही छ, उहाँहरू बस्ने कुर्सी उही छ, उहाँहरूले सुत्ने ओछ्यान उही छ, तर उहाँहरू हुनुहुन्न । उहाँहरू नभएको यो घरमा अहिले सबैभन्दा ठूलो आवाज सन्नाटाको छ ।
त्यसैले त हामी अहिले हाम्रा बुबा-मम्मीलाई मोबाइलमा खोजिरहेका छौँ । उहाँहरूको नम्बरमा फोन गर्छौँ । स्क्रिन हेर्छौँ । लोकेसन हेर्छौँ । उद्धार गरिएका मानिसहरूको सूची हेर्छौँ । बेपत्ताको सूची हेर्छौँ । रसुवाको त्रिशूलीबाट उद्धार गरेर ल्याइएका जीवित मानिसहरूको नाम हेर्छौँ । हरेक नाम पढ्छौँ, तर बुबा–मम्मीको नाम भेटिँदैन ।
हेलिकप्टरबाट ल्याइएका शवहरू काठमाडौंमा खन्याइँदा उहाँको जेठो छोरा संजय र साइलो भाइ सकिनसकी ती पोकाहरूभित्र आफ्ना मान्छेको अनुहार खोज्नुहुन्छ । एउटा–एउटा शव हेर्नुहुन्छ । कपडा हेर्नुहुन्छ । अनुहार हेर्नुहुन्छ । कुनै चिनो खोज्नुहुन्छ । मनले भन्छ, कतै यो बुबा त होइन ? कतै यो मम्मी त होइन ? तर फेरि उहाँहरू भेटिनुहुन्न । करिब-करिब निराश भएर हिजो त छोरा पनि घर फर्किनुभयो ।
चितवनमा प्रहरीले सार्वजनिक गरेका मृतकका तस्बिरहरू हेर्छौँ । फेरि त्यही खोजी सुरु हुन्छ । अनुहार हेर्छौँ । कपडा हेर्छौँ । कुनै चिनो मिल्छ कि भनेर हेर्छौँ । तर त्यहाँ पनि बुबा–मम्मी हुनुहुन्न ।
अनि हाम्रो मनमा अर्को डर जन्मिन्छ । हामीले चिन्न नसकेका ती शवहरू, ती अङ्गहरू, ती अवशेषहरू, माटोमुनि गाडिएका ती अज्ञात मान्छेहरूमा कतै हाम्रा बुबा–मम्मी पनि पर्नुभयो कि ? हामीलाई थाहा नदिई कतै उहाँहरूको अन्तिम चिनो माटोमुनि पुगिसक्यो कि ? यही सोचले भित्रभित्रै भत्भती पोल्छ ।
हामी सबै शिक्षित परिवार । आफूलाई थाहा नभएको कुरा इन्टरनेट र विज्ञका विचार सुनेर पनि जानकारी लिने क्षमता राख्छौँ । हामीलाई डीएनए परीक्षण हुन्छ भनेर थाहा छ । पहिचानको प्रक्रिया हुन्छ भनेर पनि बुझ्छौँ । तर सन्तानका लागि बुबा–मम्मी कुनै डीएनए रिपोर्ट होइनन् । उहाँहरू एउटा नम्बर होइनन् । एउटा अज्ञात शव होइनन् । उहाँहरू सन्तानको बाल्यकालको सुरक्षा हुनुहुन्छ । हाम्रो जीवनको आधार हुनुहुन्छ । हामीले हरेक दुःखमा सम्झिने मान्छे हुनुहुन्छ । त्यसैले हामी अन्तिम सम्भावनासम्म खोज्न चाहन्छौँ ।
यही झिनो सम्भावनालाई समातेर कहिल्यै कतै एक्लै नजानुभएका देवर सुवास पनि सालोलाई साथमा लिएर नवलपरासी र चितवनतिर जानुभएको छ । भोटेकोशीले बगाएर त्रिशूली हुँदै उहाँहरू त्यतातिर पुग्नुभयो कि भनेर खोज्न जानुभएको छ । कुनै अस्पतालमा, कुनै प्रहरी कार्यालयमा, कुनै शवगृहमा, कुनै नदी किनारमा, कुनै उद्धार केन्द्रमा-जहाँ कुनै सम्भावना देखिन्छ, उहाँहरू त्यहाँ पुगेर आउने निधोमा हुनुहुन्छ ।
कसैलाई यो सामान्य खोजी लाग्न सक्छ । तर हाम्रो लागि यो सामान्य खोजी होइन । यो आफ्ना बुबा–मम्मीको अस्तित्व खोज्ने दौड हो । यो आशा र निराशाबीचको दौड हो । यो एउटा छोराले आफ्ना आमाबुबालाई अन्तिमपटक खोज्ने अधिकारका लागि गरिरहेको संघर्ष हो ।
ए सरकार, हामी त यसरी खोजिरहेका छौँ । तर तिमी चाहिँ तिम्रा नागरिकलाई कहाँ खोजिरहेका छौ हँ ?
हामीले मोबाइलमा खोज्यौँ । सूचीमा खोज्यौँ । अस्पतालमा खोज्यौँ । उद्धार गरिएका मानिसहरूमा खोज्यौँ । शवका तस्बिरमा खोज्यौँ । नदी किनारमा खोजिरहेका छौँ । नवलपरासी र चितवनसम्म आफन्तहरू खोज्न गएका छन् ।
अब हामीलाई भन, हाम्रा बुबा–मम्मीलाई अन्त कहाँ खोजौँ ?
हो, यो भवितव्य होला । प्राकृतिक प्रकोप होला । बाढी रोक्ने ल्याकत हाम्रो हातमा नहोला । प्रकृतिसँग लड्न नसकिएला । तर आफ्ना मान्छे बचाउन अन्तिम सम्भावनासम्म प्रयास गर्न त सकिन्छ नि !
हामी सरकारसँग चमत्कार मागिरहेका छैनौँ । हामी केवल एउटा कुरा मागिरहेका छौँ, हाम्रो बुबा–मम्मी जीवित हुन सक्ने सम्भावना रहेसम्म खोज्न नछोड ।
यदि उहाँहरू कतै जीवित हुनुहुन्छ भने, उहाँहरूलाई बचाउने हरेक सम्भावना प्रयोग गर । यदि उहाँहरूलाई बाढीले कतै बगाएर लगेको छ भने, नदीको बहाव पछ्याएर खोज । नवलपरासीदेखि चितवनसम्म, जहाँसम्म खोज्नुपर्ने हो खोज ।
अस्पताल, शवगृह, उद्धार केन्द्र, नदी किनार र पहिचान हुन नसकेका सबै शवको अभिलेख जाँच । हरेक सम्भावित माध्यम प्रयोग गर । किनकि एउटा परिवारले आफ्नो मान्छे आफैँ खोज्दै हिँड्नुपर्ने अवस्था आउनु राज्यका लागि सबैभन्दा ठूलो प्रश्न हो ।
बुबाले जीवनभर कठिनाइसँग लड्नुभयो । हामीलाई लाग्छ, यदि बाढी उहाँको आँखाअगाडि आएको भए उहाँले मम्मीलाई बचाउन अन्तिम शक्तिसम्म प्रयास गर्नुभयो होला । त्यसैले हाम्रो मन अझै भन्छ—त्यति बलवान् बुबा त्यो जाबो बाढीसँग यति सजिलै हार्नुभएको होला र ?
सायद यही प्रश्नले हामीलाई अहिलेसम्म जीवित राखेको छ ।
सायद उहाँ कतै हुनुहुन्छ ।
सायद उहाँले मम्मीलाई लिएर कुनै सुरक्षित ठाउँ खोज्नुभएको छ ।
सायद उहाँहरू उद्धारको प्रतीक्षामा हुनुहुन्छ ।
सायद कुनै जंगल, पहाड वा नदी किनारमा हुनुहुन्छ ।
सायद कुनै अपरिचित समूहसँग हुनुहुन्छ र अवसर पाउनेबित्तिकै हामीलाई खबर गर्नुहुनेछ ।
हामीलाई थाहा छैन । तर हामी आशा मार्न तयार छैनौँ ।
त्यसैले ए सरकार, हाम्रो आशालाई कमजोरी नठान । हाम्रो प्रतीक्षालाई सामान्य नठान । हाम्रो मौनतालाई सहमति नठान । हामी प्रत्येक क्षण आफ्ना बुबा–मम्मीको खबर पर्खिरहेका छौँ ।
भदौ १० गते बिहान ८ बजेर ५ मिनेटमा बुबाले कान्छो छोरा सुवासलाई गर्नुभएको त्यो भिडियो कल अहिले हाम्रो सम्झनाको सबैभन्दा ठूलो टुक्रा बनेको छ । उहाँको अनुहार, उहाँको आवाज, त्यो अन्तिम सम्पर्क – सबैलाई समातेर हामी आज पनि उहाँलाई खोजिरहेका छौँ ।
हामी अहिले दुईवटा मृत्युबीच बाँचिरहेका छौँ । एउटा, बुबा–मम्मी साँच्चै बितिसक्नुभएको हुनसक्ने मृत्यु । अर्को, उहाँहरू जीवित हुनुहुन्छ कि हुनुहुन्न भन्ने थाहा नपाएर हरेक दिन मर्दै जाने मृत्यु । कुन मृत्यु ठूलो हो, हामीलाई थाहा छैन । तर यति थाहा छ, यो प्रतीक्षा असह्य छ । जसलाई हामीले जीवनभर बुबा र मम्मी भनेर बोलायौँ, आज उहाँहरूलाई बेपत्ता नम्बर, अज्ञात र वेवारिसे शव र डीएनए नमुनाको सूचीमा खोज्नुपरेको छ । यो कस्तो विडम्बना हो ?
यी छोटा रातहरूमा हामी सुस्ताउन सकेका छैनौँ । तराईको यो उकुसमुकुस गर्मीको वास्ता छैन । भोक छैन, निद्रा छैन, आराम छैन । हरेक फोनको घण्टीमा मुटु अड्किन्छ । हरेक नयाँ सूचनामा आँखा गाडिन्छ । हरेक बिहान फेरि एउटा आशा लिएर उठ्छौँ र हरेक रात फेरि उही अनिश्चितता लिएर आँखा चिम्लिन खोज्छौँ ।
घरमा पालेको एउटा अबोध कुकुर स्याँस्याँ गर्दै पुच्छर हल्लाउदै बुबा-मम्मीको कोठा र घर वरिपरि खोजिरहेको छ । उसलाई पनि आफ्ना मान्छे हराएको पीडा महसुस भएको छ। । आफन्तहरूलाई हाम्रो पीडा महसुस हुन्छ । छरछिमेकलाई हाम्रो पीडा महसुस हुन्छ । अपरिचित मानिसहरू समेत हाम्रो घरमा आएर काँधमा हात राख्छन् । तर ए सरकार, तिमी सजीव हौ कि निर्जीव ? तिमी आत्मासहितको सरकार हौ कि आत्माविहीन ?
तिमीले पनि त्यही गम्भीरताका साथ खोजिदेऊ । हामीलाई भाषण चाहिँदैन । विज्ञप्ति चाहिँदैन ।
सामाजिक सञ्जालमा संवेदना चाहिँदैन । हामीलाई हाम्रो बुबा–मम्मीको खबर चाहिएको छ । जीवित हुनुहुन्छ भने बचाऊ । जीवित हुनुहुन्न भने खोजेर देऊ । तर हामीलाई “थाहा छैन” भन्ने अँध्यारोमा नछोड है । नागरिकलाई अँध्यारोमा राख्ने छुट राज्यलाई कहाँ हुन्छ र ?
किनकि एउटा छोरा आफ्नो बुबाको मृत्युको खबर सुन्न तयार हुन सक्छ, तर आफ्नो बुबा कहाँ हुनुहुन्छ भन्ने थाहा नपाई बाँच्न तयार हुँदैन ।
र हामी अझै पनि यही आशामा छौँ – हाम्रा बलवान् बुबाले बाढीसँग हार मान्नुभएको छैन होला । कतैबाट उहाँको आवाज आउनेछ । कतैबाट उहाँहरूको भिडियो आउनेछ । अनि उहाँले भन्नुहुनेछ – “चिन्ता नगर, हामी जीवितै छौँ ।”
हामी त्यही एउटा वाक्य सुन्नका लागि आजसम्म जागिरहेका छौँ ।







प्रतिक्रिया