१८ वैशाख बिहानै डोजर : २४ घण्टाभित्र बस्ती खाली गर्न प्रशासनको कडा उर्दी

काठमाडौँ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अनधिकृत बस्ती तत्काल खाली गर्न निर्देशन दिएको छ ।

बुधबार जारी सूचनाअनुसार वैशाख १८ गते बिहान ७ बजेदेखि काठमाडौँका विभिन्न स्थानमा एकैपटक डोजर चलाएर बस्ती हटाउने तयारी गरिएको छ । प्रशासनले त्यसअघि अर्थात् वैशाख १७ गते साँझसम्म सबै घरटहरा पूर्ण रूपमा खाली गर्न अन्तिम समयसीमा दिएको छ ।

सूचनामा नदी किनार, सरकारी, पर्ति तथा निजी जग्गा अतिक्रमण गरेर बसोबास गरिरहेका बस्तीहरूलाई ‘मानवीय उद्धार’ र ‘विपद् जोखिम न्यूनीकरण’ को कारण देखाउँदै हटाउन लागिएको उल्लेख गरिएको छ ।

प्रशासनले वास्तविक रूपमा आश्रय आवश्यक भएका परिवारलाई सरकारले तोकेको स्थानमा अस्थायी बसोबासको व्यवस्था गरिने जनाएको छ । साथै, कुनै पनि अफवाह वा दबाबमा नपरी प्रशासनको निर्देशन पालना गर्न सबैलाई आग्रह गरिएको छ ।

यस निर्णयसँगै राजधानीका सुकुम्बासी बस्तीमा पुनः त्रास फैलिएको छ भने हटाउने अभियानलाई लिएर विवाद थप चर्किने संकेत देखिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  २० : १५  बजे