काठमाडौं, १४ साउन । अमेरिकाले चीनलाई लक्षित गर्दै ह्युमनोइड अर्थात् मानव आकारका रोबोट तथा पावर इन्भर्टरका नयाँ उपकरणको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले नयाँ किसिमका ह्युमनोइड रोबोट र पावर इन्भर्टरलाई प्रतिबन्धित उपकरणको सूचीमा राख्ने जनाएको छ। एफसीसी अध्यक्ष ब्रेन्डन कारका अनुसार अमेरिकी महत्वपूर्ण आपूर्ति शृङ्खला, साइबर सुरक्षा तथा ऊर्जा पूर्वाधारलाई सुरक्षित गर्ने उद्देश्यले प्रतिबन्ध लगाइएको हो।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी सेप्टेम्बरमा प्रस्तावित भेटवार्ताअघि आएको हो। समाचार संस्था एपीका अनुसार नयाँ प्रतिबन्धले अमेरिका–चीनबीच प्रविधि तथा व्यापारिक प्रतिस्पर्धा थप तीव्र हुन सक्ने संकेत गरेको छ।
विश्वको ह्युमनोइड रोबोट बजारमा चीनको हिस्सा करिब ८५ प्रतिशत रहेको बताइएको छ। अमेरिकाले यसअघि पनि चिनियाँ ड्रोन, दूरसञ्चार उपकरण, सेमिकन्डक्टर र उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिमा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ।
चीनले भने अमेरिकी निर्णयलाई संरक्षणवादी नीति भन्दै विरोध गरेको छ। विश्लेषकहरूका अनुसार प्रतिबन्धले अल्पकालमा अमेरिकी उत्पादकलाई केही प्रतिस्पर्धात्मक राहत दिए पनि चीनको ठूलो उत्पादन क्षमता, कम लागत र सरकारी सहयोगका कारण विश्व रोबोट बजारमा उसको अग्रता तत्काल कमजोर हुने सम्भावना कम छ।
पछिल्लो निर्णयले अमेरिका–चीनबीचको प्रविधि प्रतिस्पर्धासँगै विश्वव्यापी आपूर्ति शृङ्खला, कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स क्षेत्रमा समेत थप प्रभाव पार्न सक्ने देखिएको छ।







प्रतिक्रिया