काठमाडौं, १४ साउन । प्रहरीले देशका विभिन्न राजमार्गमा बाढी, पहिरो तथा वर्षाका कारण यातायात सञ्चालनमा समस्या भएको जनाएको छ। प्रहरीले यात्रा गर्नुअघि सडकको अवस्थाबारे पर्याप्त जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ। यस्तै, सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रे–खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक लगाइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
यसैगरी इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङल्हामु सडकखण्ड, ललितपुरको कान्ति लोकपथ र जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
सिन्धुपाल्चोकको भोटेकोशी–२, कोदारीस्थित अरनिको राजमार्गमा सडक माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण अन्य सडकखण्डमा समेत बाढी तथा पहिरोको जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह गरेको छ।







प्रतिक्रिया