काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गणतन्त्र स्थापनापछि मुलुकले हासिल गरेका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो र नकारात्मक प्रचार भइरहेको बताउनुभएको छ।
४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले गणतन्त्रपछि भएका राजनीतिक, सामाजिक र भौतिक पूर्वाधारका उपलब्धिलाई नियोजित रूपमा अवमूल्यन गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो।
उहाँले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई समेत अपमानित र कमजोर देखाउने अभियान चलाइएको दाबी गर्नुभयो।
अध्यक्ष दाहालले पुष्पलाल स्मृति दिवसलाई श्रद्धाञ्जली व्यक्त गर्ने दिन मात्र नभई गणतन्त्रका उपलब्धि र परिवर्तनविरुद्ध भइरहेको प्रतिगामी अभियानको सामना गर्ने नयाँ संकल्पको दिनका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।
उहाँले पुष्पलाल प्रतिष्ठानको भौतिक संरचनाको पुनर्निर्माणसँगै वैचारिक पुनर्जागरणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सामन्तवाद, साम्राज्यवाद र निरंकुशताविरुद्ध संघर्ष गर्न नेपालको इतिहास, वर्गीय संरचना र सामाजिक विकासक्रमबारे गहिरो अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउनुभयो।







प्रतिक्रिया