काठमाडौं, १४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृङ्खलामा नेपाल जितविहीन बनेको छ। बुधबार भएको खेलमा नेपाल आयोजक नेदरल्यान्ड्ससँग ५७ रनले पराजित हुँदै शृङ्खलाका चारै खेलमा हार बेहोरेको हो।
नेदरल्यान्ड्सले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमै अलआउट भयो। नेपालका लागि आसिफ शेखले ३८, कप्तान रोहित पौडेलले २६ र करण केसीले २३ रन बनाए। अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन।
एक समय ५० रनमा तीन विकेट गुमाएको नेपालका लागि रोहित र आसिफले ३५ रनको साझेदारी गरेका थिए। तर त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदै गएपछि नेपाल दबाबमा परेको थियो। करण केसीले केही आक्रामक प्रहार गर्दै खेलमा फर्किने प्रयास गरे पनि उनको विकेटसँगै नेपालको जितको सम्भावना समाप्त भयो।
नेदरल्यान्ड्सका काइल क्लेइनले तीन विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले दुई–दुई विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२५ रन बनाएको थियो। नोआ क्रोसले ७० र कप्तान स्कट एडवार्ड्सले ५७ रन बनाए। ५६ रनमा चार विकेट गुमाएको नेदरल्यान्ड्सलाई यी दुईले ११५ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए।
नेपालका करण केसीले १० ओभरमा ३० रन खर्चेर चार विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र हेमन्त धामीले एक–एक विकेट लिए।
यो हारसँगै लिग–२ मा नेपालको ३२ खेलबाट २४ अंक भएको छ भने नेदरल्यान्ड्सको ३१ खेलबाट ३८ अंक पुगेको छ। नेपालले अब बाँकी चारै खेल जिते पनि ३२ अंक मात्रै पुग्नेछ। त्यसैले शीर्ष चारमा पर्ने नेपालको सम्भावना अत्यन्त कमजोर बनेको छ।
नेपालले अब ओमान र क्यानडासँग शृङ्खला खेल्न बाँकी छ। आगामी खेलमा थप हार बेहोरे नेपालको शीर्ष चारको सम्भावना समाप्त हुनेछ भने क्यानडाले नेपाललाई उछिनेर अघि बढे नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता समेत जोखिममा पर्ने अवस्था छ।







प्रतिक्रिया