सदनमै पोखिन थाल्यो रास्वपाको असन्तुष्टि, सरकारमाथि सांसदकै प्रश्नैप्रश्न

काठमाडौं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र बढ्दै गएको असन्तुष्टि अब प्रतिनिधिसभाको बैठकमै देखिन थालेको छ। शुक्रबारको बैठकमा रास्वपाका सांसदहरूले सरकारको कार्यशैली, ग्यास तथा मल अभावदेखि नागरिक र निजी क्षेत्रसँगको व्यवहारसम्मका विषयमा सरकारमाथि प्रश्न उठाएका छन्।

रास्वपा सांसद रमेश प्रसाईंले ग्यासका लागि सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्नुपरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाउनुभयो। आफूहरू सरकारमा आएपछि जनतालाई लाइन बस्न नपर्ने भन्दै चुनावका बेला गरिएका प्रतिबद्धता स्मरण गर्दै उहाँले अहिलेको अवस्थाले आफूलाई लज्जित बनाएको बताउनुभयो।

उहाँले प्रधानमन्त्री र मन्त्रीको सरकारी निवासमा पनि ग्यासको अभाव रहेको छ कि छैन भन्दै प्रश्न गर्नुभयो। कृत्रिम अभाव सिर्जना गरिएको वा कालोबजारी भइरहेको भए दोषीलाई कारबाही गर्न दुई तिहाइ नजिकको सरकारलाई कसले रोकेको छ भन्ने उहाँको प्रश्न थियो।

रास्वपाकी सांसद टीका संग्रौलाले विपन्न नागरिकको मृत्यु र अन्तिम संस्कारसँग जोडिएको करप्रति आपत्ति जनाउनुभयो। उहाँले विपन्न नागरिकको मृत्यु हुँदा राज्यले निःशुल्क दाउरा, शवदाहका लागि स्थान र आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहेको तर काम गर्ने ढंगमा कमजोरी रहेको टिप्पणी गर्नुभयो। उहाँले सरकार सञ्चालनमा सुधार गर्नुपर्ने भन्दै आफूलाई थाहा नभएका विषय सिक्न र विज्ञको सुझाव लिन आग्रह गर्नुभयो।

झाले निजी क्षेत्रलाई सरकारले विश्वास दिलाउनुपर्ने बताउँदै बैंकमा रहेको पैसा लगानी गर्न सक्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो। प्रवासी नेपालीलाई लगानीका लागि सहज वातावरण बनाउन तथा मधेस, निजी क्षेत्र र प्रवासी नेपालीलाई विकासको साझेदारका रूपमा अघि बढाउन उहाँले सरकारलाई सुझाव दिनुभयो।

मधेसमा हालै भएको घटनाप्रति सचेत हुन आग्रह गर्दै झाले ‘आगो निभेको भए पनि दाउरा निभेको छैन’ भन्दै सरकारलाई संवेदनशील बन्न चेतावनी दिनुभयो।

प्रधानमन्त्री र मन्त्रीहरूले लगाउने कालो चस्मालाई लक्षित गर्दै उहाँले जननिर्वाचित प्रतिनिधि जनतासँग जोडिनुपर्ने बताउनुभयो। सवारीसाधनको कालो स्टिकर हटाएजस्तै अब कालो चस्मा पनि हटाउनुपर्ने उहाँको टिप्पणी थियो।

सरकारमाथि आफ्नै सांसदहरूले प्रश्न उठाउन थालेपछि रास्वपाभित्र संसदीय भूमिकालाई लिएर समेत असन्तुष्टि देखिएको छ। सांसदहरूले सदनमा बोल्नुअघि सचेतकलाई विषय जानकारी गराउनुपर्ने निर्देशनप्रति केही सांसदले आपत्ति जनाएका छन्।

एक रास्वपा सांसदले आफूले सचेतकलाई जानकारी गराउनुपर्ने निर्देशन पालना नगरेको बताउँदै जनताका चासो र आफूलाई चित्त नबुझेका विषय सदनमा उठाउन पाउनुपर्ने धारणा राखेका छन्।

उनले सरकारको कामप्रति मात्रै नभई सांसदका रूपमा आफूहरूले निर्वाह गर्नुपर्ने भूमिकाप्रति पनि सन्तुष्ट हुन नसकेको बताएका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ०९ : १२  बजे