रामेछाप, २२ साउन । नेकपा एमाले रामेछापको आफ्नै पार्टी कार्यालय भवन बनेको छ । साँढे दुई करोड भन्दा बढी लागतमा बनेको चार तले भवनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
भवनमा अध्यक्ष, सचिव, कार्यालयको सचिवालय, लेखा कमिटी, निर्वाचन कमिटी, जनसंगठनहरु, मन्थली नगरपालिका कमिटीको कार्यकक्षका साथै पुस्तकालय र ३ सय ५० जना बढी अट्ने हल समेत रहेको पार्टी उपाध्यक्ष एवं वित्त विभागका प्रमुख होतराज ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेको पार्टी कार्यालय भवन रामेछापका जनताहरूको आस्थाको केन्द्रका रूपमा विकसित हुनु पर्नेमा जोड दिनुभयो । उहाँले एमाले एमाले देशभक्ति र जनताको समस्या समाधानको सन्दर्भमा सबैभन्दा सशक्त पार्टी भएको बताउनुभयो । तर गएको निर्वाचनमा एमालेले जनाको विश्वास जित्न नसकेको पोखरेलको धारणा छ ।

उहाँले भन्नुभयो,‘जनता हामीबाट टाढिएका छन्, जो वर्गको राजनीति हामीले गरिरहेका छौँ, त्यो वर्ग नै हामीसँग टाढिएको छ, यसको कारण खोज्नु पर्दछ ।’
उहाँले अहिलेको अवस्थालाई चिरेर अघि बढ्ने सामर्थ्य नेकपा एमालेले राख्नु बताउनुभयो । यसका लागि एमालेले आफूलाई रिभ्यु गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी नयाँ ढङ्गले अगाडि बढ्दछ भन्ने कुरामा कार्यकर्ता विश्वस्त हुनु पर्दछ, जनतालाई विश्वस्त बनाउनु पर्दछ’, उहाँले भन्नुभयो ।
एमालेले आफ्ना कमजोरीहरू स्वीकार गरेर अघि नबढ्दा जनताले राम्रा काम समेत सुनिनहेको उहाँले बताउनुभयो । अध्यक्षको पक्षमा सबैभन्दा बढी डिफेन्स गर्ने व्यक्ति आफू भएको स्विकार्दै तर त्यति गरेर मात्र जनताले नस्विकारेकाले अब कमजोरी सच्याएर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

बहस र छलफलले नै समस्या समाधान गर्ने बताउँदै अहिले पार्टी त्यही अभियानमा लागेको जानकारी दिनुभयो । ‘विगतका घटनाको वस्तुनिष्ठ समीक्षा गरेर भविष्यको व्यवस्थित कार्ययोजना बनाएर अगाडि बढ्न हाम्रो पार्टी सक्षम छ’, पोखरेलले भन्नुभयो ।
एमालेले मानिसको जीवनस्तर वृद्धिको लागि धेरै काम गरेको बताउँदै सोही अनुसारको नागरिकको आम्दानीको श्रोत भने बढाउन नसकेको बताउनुभयो । ‘त्यो असन्तुष्टि आजको समाजको विद्रोहको रूपमा देखियो’, पाखरेलले भन्नुभयो । नयाँ पुस्तालाई पार्टीमा जोड्न उनीहरूको मनोविज्ञान बुझ्न आवश्यक रहेको पोखरेलको भनाइ छ ।
‘कमजोरीबाट सिकेर अघि बढ्नु पर्छ, कमजोरीलाई सुधार गर्ने नै शिखरमा पुग्न सक्दछन्, कमजोरीलाई स्विकार्न कुनै अप्ठेरो मान्नु पर्दैन’, उहाँले भन्नुभयो । भदौ २३ र २४ को घटनामा टिओबी, बार्बरा फाउण्डेसन लगायतले भूमिका खेलेको कुरा बाहिर आइसकेको उहाँले बताउनुभयो ।
यो बाह्य हस्तक्षेप अब नलुकेको उहाँले स्पष्ट पार्नुभयो । दलहरूका बिचमा रहेको विभाजन र जनतामा रहेको असन्तुष्टि कारण भदौ २३ र २४ को घटना सामना गर्न नसकिएको पोखरेलले सुनाउनुभयो । जबसम्म युवालाई उत्पादनको काममा जोड्न सकिँदैन तबसम्म देश नबन्ने उहाँले बताउनुभयो ।

‘बाहिर गएर गरेको कमाइले कुनै पनि देश बनेको छैन’, उहाँले भन्नुभयो । एमालेको आन्दोलन यथास्थितिवादी आन्दोलन नभएको बताउनुभयो । एमालेको आन्दोलन प्रगतिशील र परिवर्तनको आन्दोलन भएको पोखरेलको भनाइ छ । यो कुरालाई बुझ्न नसक्ने हो भने पार्टी अगाडि नबढ्ने उहाँको धारणा छ ।
सूचना प्रविधिको उपयोग गरेर अब पार्टीको अभियान अघि बढ्नु पर्नेमा पोखरेलले जोड दिनुभयो । खराब मानिसको हातमा सूचना प्रविधिका उपकरण पुगेका कारण देश आजको अवस्थामा आएको पोखरेलले बताउनुभयो । ‘डिजिटल वार जित्यौँ भने मात्र हामीले लडाइँ जित्दछौँ, यसको लागि हामी युवाका बिचमा जानै पर्छ, यही हो पार्टीको पुनर्गठन भनेको कुरा’, पोखरेलले भन्नुभयो ।
पार्टीका नेताहरू अहिलेको समस्या समाधानको लागि छलफमा बसेकाले समस्याको समाधान गरेर निस्कने उहाँले बताउनुभयो । ‘यो देश बनाउने यही पार्टीले हो, बनाउँछ यसले, द्विविधामा नरहनुस्’, उहाँले भन्नुभयो । बालेन नेतृत्वको सरकार कुनै चुनौती नभएको उहाँले बताउनुभयो ।
रास्वपा जसरी उदायो त्यसै गरी अन्त्य हुने पोखरेलको धारणा छ । नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पार्टी भवन निर्माणमा योगदान गर्ने सबै समान हिस्सेदार भएको बताउनुभयो । पार्टीको भवन इँटाको थुप्रो मात्र नभएर आस्थाको केन्द्र भएको स्पष्ट पार्नुभयो ।

उहाँले यो देशको विकास निर्माणमा सबैभन्दा ठुलो हिस्सा नेकपा एमालेको भएको बताउनुभयो । जनताका हरेक दुःखको सारथि नेकपा एमाले नै भएको उहाँले दाबी गर्नुभयो । ‘चुनाव हार्दैमा हाम्रो अभियान रोकिँदै, हामी निरन्तर जनताको सेवामा समर्पित रहने छौँ’, ढुङ्गेलले भन्नुभयो ।
उहाँले भदौ २३ र २४ को घटनामा नेपाली सेना लगायत सुरक्षा निकायको भूमिका संशयपूर्ण रहेको स्पष्ट पार्नुभयो । ‘मेरो सेना र मेरा सुरक्षा निकाय माथि मलाई प्रश्न उठाउन मन छैन तर दुनियाँले प्रश्न उठाएका छन्’, उहाँले भन्नुभयो । उहाँले पार्टी भित्र अहिले चलिसहेको बसको सन्दर्भ जोड्दै हिजो केपी ओलीलाई काँधमा बोकेर हिँड्ने व्यक्ति शंकर पोखरेले भएको स्मरण गराउनुभयो ।
पार्टीमा अध्यक्ष र महासचिव बिच केही समस्या हो कि भन्ने देखिएको बताउँदै उहाँले त्यसका लागि पार्टी अध्यक्ष र महासचिव बसेर उहाँहरू बिच एकता छ भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो ।







प्रतिक्रिया