इरानी नेता खामेनीको अवस्था गम्भीर रहेको इजरायली सञ्चारमाध्यमको दाबी

काठमाडौं, २३ साउन । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगिएको दाबी इजरायली सञ्चारमाध्यमहरूले गरेका छन्। च्यानल १४ (सी–१४) ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै र जेरुसेलम पोस्टको अघिल्लो रिपोर्टअनुसार, खामेनी ‘अत्यन्त गम्भीर अवस्था’मा रहेको कुरा शासनका उच्चतम तहमा व्यापक रूपमा फैलिरहेको छ।

च्यानल १४ ले इरानवायर र राष्ट्रपति मसुद पेजेस्कियानको प्रशासन नजिकका स्रोतहरूलाई उद्धृत गर्दै खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ। जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले भनेको छ, ‘हामी चाँडै उनको शहादतको समाचार सुनेर अचम्मित हुने छैनौँ।’

गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा आफ्ना पिता तत्कालीन सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनको जिम्मेवारी मोज्तबाले सम्हालेका हुन्। तर सर्वोच्च नेता बनेयता उनी अहिलेसम्म कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनले जहिले आफ्ना लिखित वक्तव्य अरूद्वारा सार्वजनिक गरिरहेका छन्।

अमेरिकासँग लडाइँमा उनी नदेखिँदा इरानका अन्य उच्च अधिकारीहरूसँग उनको सम्बन्धबारे अनेक अनुमान भइरहेका छन्।रिपोर्टअनुसार इजरायल–अमेरिकाले संयुक्त आक्रमण गरेको पहिलो दिन नै उनी पनि घाइते भएका थिए। सम्भवतः अनुहारमा लागेको चोटका कारण उनी लुकेर बस्न बाध्य भएका हुन्।

उनको स्थितिबारे राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा खामेनीसँग प्रत्यक्ष अन्तरक्रिया अहिले ‘निकै कठिन’ भएको बताएका छन्। यसले उनको स्वास्थ्यबारे गरिएका अनुमानलाई बल पु¥याएको छ।

अन्तर्राष्ट्रिय र क्षेत्रीय रिपोर्टहरूले बारम्बार उनको भौतिक अवस्था र क्षमतामा प्रश्न उठाइरहेका छन्। जुलाईमा साउदी समाचार संस्था अल–हदाथले एक इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै खामेनी ‘इरानमा नरहेको’सम्म दाबी गरेको थियो।’

लगभग त्यही समयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्युजको अन्तर्वार्तामा भनेका थिए, ‘इरानको शीर्ष सैन्य नेतृत्व समाप्त पारिएको छ र खामेनी ९० प्रतिशत समाप्त भएका छन्।’ यद्यपि इरानी अधिकारीहरूले भने ती दाबी खण्डन गरिरहेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार  ०७ : ५५  बजे