सरकारले फेरि बढायो गाडी भाडा, अब कति पुग्यो ?

काठमाडौँ, १६ वैशाख । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय को सहमतिअनुसार यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५–५ प्रतिशतले वृद्धि गरिएको हो ।

नयाँ भाडादर बुधबारदेखि नै लागू भएको सरकारले जनाएको छ । वृद्धि राष्ट्रियस्तरका (दुई वा दुईभन्दा बढी प्रदेश जोड्ने) रुटमा सञ्चालन हुने विद्युतीयबाहेकका सवारी साधनमा लागू हुनेछ ।

यस निर्णयअनुसार सार्वजनिक यात्रुवाहक गाडी, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारी तथा तराईका मालवाहक गाडीको भाडा समान दरमा बढाइएको छ ।

यसअघि पनि सरकारले चैत २५ गते भाडा बढाएको थियो । छोटो अवधिमै पुनः भाडा वृद्धि भएपछि यात्रुहरू थप आर्थिक भारमा परेका छन् भने निर्णयप्रति आलोचना समेत सुरु भएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १२ : ४७  बजे