धान काट्दा र पदयात्रा गर्दा मौसमबारे जानकारी लिन सुझाव

काठमाडौं, १०  कात्तिक ।  आज बेलुकीदेखि शुक्रवारसम्म देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले हिजो सार्वजनिक गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।भोलि पनि गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा बाँकी पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी अवस्थाबारे स्वतन्त्र रुपमा विश्लेषण गर्दै आएका विज्ञहरुले भने भोलिदेखि शुक्रवारसम्म पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार भोलिदेखि शुक्रवारसम्म देशका धेरै ठाउँमा पानी पर्नेछ । देशको पूर्वी भागमा अलि धेरै पानी पर्न सक्ने अनुमान छ । अरु क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद् पोखरेलको अनुमान छ । यतिबेला किसान धान काट्न व्यस्त भएकाले काटेको धान तत्कालै भित्र्याउन र ४/५ दिन सकभर धान काट्ने र भित्र्याउने काम नगर्न विज्ञहरुको सल्लाह छ ।

यस्तै सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवम् ‘अलर्ट’ बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।यस्तै, पदयात्राका लागि आवश्यक पूर्वतयारी गर्न एवम् लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवम् एक्लै यात्रामा ननिस्कनसमेत अनुरोध गरेको छ । पछिल्ला दुई दिन अर्थात् हिजो र अस्ति लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको छ भने एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, सोमबार  ०७ : ०६  बजे