तिहारको सार्वजनिक बिदा आजदेखि शुरु

काठमाडौं, ३ कातिक । आजदेखि तिहारको सार्वजनिक बिदा शुरु भएको छ । अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन् । कात्तिक ६ गते बिहीवार भाइटीका मनाइनेछ । अर्को दिन शुक्रवार तिहारको बिदा र शनिबार पनि बिदा नै हुने भएकाले आउँदो आइतवारदेखि मात्रै सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएका हुन् ।

तिहार तथा छठ पर्व मनाउन कतिपयले काठमाण्डौ छोड्नेक्रम शुरु भएको छ । यसवर्ष तिहारका लागि झन्डै छ लाख मानिस काठमाण्डौ उपत्यकाबाट बाहिरिने यातायात व्यवसायीको अनुमान छ । काठमाण्डौमा तिहारका बेला दशैँमा जस्तो सुनसान भने हुँदैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसपटक तिहारको बिदा लामो भएका कारण काठमाण्डौ उपत्यका छोड्नेको सङ्ख्या बिगतमा भन्दा केही बढ्ने अनुमान गरेको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा गाडीको व्यवस्थापन हुने जानकारी दिनुभयो । यस पटकको दशैँमा मुख्य राजमार्गमा पहिरोले सास्ती खेप्नुपरेको भए पनि तिहारको समयमा सडकको अवस्था सुधार भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, सोमबार  ०७ : २९  बजे