जेनजी आन्दोलनमा बर्दी खोल्न लगाई प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २ कातिक  । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौं महानगरपालिका–३२, जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ रहेका छन् ।  प्रहरीका अनुसार, उनी विभिन्न स्थानहरूमा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गर्ने कार्यमा संलग्न थिए । जिल्ला प्रहरी परिसरले आइतबार विज्ञप्ति जारी गर्दै उनले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी र प्रहरी टोलीमाथि आक्रमण समेत गरेको जनाएको छ । बर्दी खोल्न लगाई वाग्मती खोलामा सांघातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।  उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसुरमा आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार  १९ : ५५  बजे