मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, ९ घाइते

काठमाडौं, २ कातिक ।  कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका-४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त। ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिका अन्तर्गत पर्ने धोबेनी खोलामा अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको हो ।इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका नौ जनालाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि लम्की स्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, आइतबार  १७ : ५२  बजे