बालेन र सुदनविरुद्ध नेविसंघले दियो प्रहरीमा उजुरी

काठमाडौं, २६ असोज। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो । विद्यार्थीहरुलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरुमाथि अनुसन्धान हुनुपर्ने नेविसंघको माग छ ।उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह छन् । उनीहरुले २४ घण्टाभित्र बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धानको माग राखेका छन् । यसअघि सुदन गुरुङसहितका युवाहरुले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत विरुद्ध पनि जाहेरी दिएका थिए । त्यसलगै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार  १३ : ३९  बजे