चीनमा गणेश पराजुलीले उठाए हिमालय संरक्षण र नेपालको आर्थिक रूपान्तरणको मुद्दा

काठमाडौं, १ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा उद्योग, शिक्षा र प्रविधिमार्फत नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

चिनियाँ जनताको वैदेशिक मैत्री संघ (सीपीएएफससी) द्वारा चीनमा आयोजित सन् २०२६ को लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेसमा नेपालको प्रतिनिधित्व गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘दिगो भविष्यका लागि गुणात्मक वृद्धिमा साझेदारी’ नारासहित आयोजित कार्यक्रममा ५२ देशका सभामुख, उपसभामुख, मन्त्री तथा सांसदसहित ६६ जनाभन्दा बढी कानुन निर्माता सहभागी थिए ।

कार्यक्रममा ‘उद्योग, शिक्षा र नयाँ गुणात्मक उत्पादक शक्ति’ विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्दै पराजुलीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता विपद्का जोखिम बढ्ने बताउनुभयो । यस्ता विपद्का प्रभाव कुनै एक देशमा मात्र सीमित नहुने उल्लेख गर्दै उहाँले हिमालय संरक्षण, प्रभावकारी पूर्वसूचना प्रणाली र जलवायु उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका सभापतिसमेत रहनुभएका पराजुलीले जलवायु न्याय र हिमाली क्षेत्रको संरक्षणलाई साझा अन्तर्राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको आर्थिक रूपान्तरणका लागि शिक्षा र उद्योगबीचको दूरी घटाउँदै व्यावहारिक सीप विकास, अनुसन्धान, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । शैक्षिक संस्थालाई उद्योगको आवश्यकतासँग जोडेर युवाका लागि स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाली हस्तकला, कृषि उत्पादन तथा जडीबुटीलाई आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके निर्यात प्रवर्द्धन र आर्थिक विकासमा योगदान पुग्ने पराजुलीको धारणा थियो ।

नेपाल–चीन सहकार्यका सम्भावनाबारे चर्चा गर्दै उहाँले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सीप, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो । चीनको औद्योगिक तथा प्राविधिक अनुभवलाई नेपालको युवा जनशक्ति र उद्यमशीलतासँग जोड्न सके रोजगारी सिर्जना र दिगो आर्थिक विकासका नयाँ अवसर खुल्ने उहाँको भनाइ थियो ।

नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई शिक्षा, प्रविधि, लगानी तथा युवा जनशक्ति विकासमा केन्द्रित व्यावहारिक साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै पराजुलीले साझा प्रयासबाट दिगो विकास र पारस्परिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

पराजुलीको सचिवालयका अनुसार उहाँ कार्यक्रम सम्पन्न गरी बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १ कार्तिक २०८३, आइतबार  २० : २७  बजे