रुपन्देही, १ कात्तिक। आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गरिएको विरोधमा लुम्बिनी क्षेत्रमा प्रदर्शन भएको छ । ‘लुम्बिनी बचाउ महाअभियान’ले नियुक्तिप्रति आपत्ति जनाउँदै सरकारलाई निर्णय सच्याउन माग गरेको छ ।
मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । नियुक्तिको निर्णय सार्वजनिक भएपछि आइतबार स्थानीयले कोष परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।
महाअभियानले उपाध्यक्षको कार्यालयअघि ब्यानर राखेर विरोध जनाउँदै डोल्मालाई लुम्बिनी प्रवेशमा रोक लगाउने घोषणा गरेको अभियानकी सहसंयोजक लक्ष्मी थारुले जानकारी दिनुभयो ।
अभियानका संयोजक अक्रम खानले नियुक्तिले स्थानीयको भावनाको अपमान भएको बताउनुभयो । सहसंयोजक रामविकास चौधरीले स्थानीयको भावना र बौद्ध दर्शनको मर्मलाई ध्यानमा राखेर निर्णय सच्याउन सरकारसँग आग्रह गर्नुभयो ।
महाअभियानले लुम्बिनी विकास कोषजस्तो धार्मिक तथा सांस्कृतिक महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा स्थानीयको प्राथमिकता, बौद्ध दर्शन र परम्परालाई ध्यान दिनुपर्ने जनाएको छ । नियुक्तिमा स्थानीय जनभावनाभन्दा आर्थिक पहुँचलाई प्राथमिकता दिइएको अभियानको आरोप छ ।
अभियानका अगुवाहरूले डोल्माको नागरिकता र आर्थिक स्रोतसम्बन्धी विषयमा पनि प्रश्न उठाएका छन् । उनीहरूले यी विषयमा पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन् । लुम्बिनी विकास कोषको उपाध्यक्ष कार्यकारी भूमिकामा रहने भएकाले स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै धार्मिक पर्यटन तथा क्षेत्रको विकासलाई अघि बढाउनुपर्ने अभियानको धारणा छ ।












प्रतिक्रिया