गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३३ जना सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौँ, १० भदौ । गोरखाको पालुङटारबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्राका लागि जानुभएका ३३ जना यात्रु बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको छ।

पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट दुईवटा माइक्रोबस र एउटा बसमा यात्रुहरू गोसाइँकुण्डतर्फ प्रस्थान गर्नुभएको थियो। दुईवटा माइक्रोबसमा सवार यात्रुहरू भने सुरक्षित रहेको जानकारी प्राप्त भएको नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो।

तर, एउटा बसमा सवार यात्रुहरूको अवस्था अझै अज्ञात रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार केही समयअघि उक्त बसमा सवार चार जनाले बसबाट हामफालेर आफूहरू सुरक्षित रहेको जानकारी गराउनुभएको थियो। त्यसपछि उहाँहरूसँग पनि सम्पर्क हुन सकेको छैन।

पालुङटारबाट गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएका ३३ जना यात्रु सम्पर्कविहीन हुनुभएको जानकारी आफूले पनि पाएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार ३८ जना सवार रहेको बसबाट पाँच जना हामफालेर सुरक्षित हुनुभएको जानकारी प्राप्त भएको छ भने बाँकी ३३ जनाको अवस्था अज्ञात रहेको छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार यात्रुहरूको अवस्थाबारे जानकारी लिन गृह मन्त्रालय तथा नुवाकोट प्रशासनसँग आवश्यक समन्वय भइरहेको छ।

बुधबार बिहान तिब्बती क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीपछि विभिन्न स्थानमा सम्पर्कविहीन हुनुभएका नागरिकहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन गरिएको छ।

प्रकाशित मिति: १० भदौ २०८३, बुधबार  १९ : ००  बजे