राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी–बागमतीका सांसद पदमुक्त भएका छैनन्

काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू पदमुक्त नभएको दाबी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले पार्टीले सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको बताउनुभएको हो। निवेदन दिँदैमा सांसद पदमुक्त नहुने उहाँको भनाइ छ।

शाहीका अनुसार सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसदहरूलाई पदमुक्त भएको भन्न मिल्दैन।

‘निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन, सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन,’ उहाँले भन्नुभएको छ।

पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले समेत तथ्य नबुझी गलत सूचना फैलाउन थालेको भन्दै शाहीले यसले पार्टीलाई बलियो नबनाउने बताउनुभएको छ।

पार्टीले कारबाही गर्न सक्ने भए पनि कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको नमानिने उहाँको भनाइ छ। उहाँले ती सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको उल्लेख गर्दै भावनाभन्दा तथ्यमा आधारित भएर बोल्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति: ९ भदौ २०८३, मंगलबार  ०७ : ५१  बजे