काठमाडौँ, २ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेका अधिकारमाथि सरकारबाटै हमला भइरहेको आरोप लगाउनुभएको छ।
बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनको नेतृत्वकर्ता भएकाले आफ्नो पार्टीमाथि ठूलो जिम्मेवारी रहेको बताउनुभयो।
प्रचण्डले पञ्चायती निरङ्कुशता र निरङ्कुश राजतन्त्रविरुद्ध भएका आन्दोलनको नेतृत्व गरेको स्मरण गर्दै अहिले जनताले प्राप्त गरेका पहिचान र अधिकारमाथि प्रतिक्रान्तिकारी तथा प्रतिगामी हमला भइरहेको दाबी गर्नुभयो।
उहाँले मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको बताउँदै त्यसको प्रतिवाद गर्ने जिम्मेवारी पनि आफ्नो पार्टीको काँधमा आएको उल्लेख गर्नुभयो।
जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले चेतावनी दिनुभयो। लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात भएको पार्टी नेकपा नै रहेको उहाँको दाबी थियो।
प्रचण्डले पुरानो पार्टी विघटन गरेर नयाँ पार्टी निर्माणको पहल आफूहरूले नै गरेको उल्लेख गर्दै त्यसलाई इतिहासका रूपमा स्मरण गर्नुपर्ने बताउनुभयो।
गत भदौ २४ गतेको घटनापछि विचार, राजनीति र संगठनमा मूलभूत समानता भएका शक्तिहरूबीच एकता आवश्यक रहेको निष्कर्षमा आफूहरू पुगेको उहाँले बताउनुभयो।
निर्वाचनका क्रममा पार्टी एकताको प्रक्रियामार्फत जनतामा नयाँ सन्देश दिन खोजिए पनि निर्वाचन सामान्य अवस्थामा नभएको उहाँको दाबी थियो।
‘यो २४ गतेकै प्रतिक्रान्तिको निरन्तरता भएको हुनाले यो निर्वाचन नियोजित निर्वाचनका रूपमा देखापर्यो,’ उहाँले भन्नुभयो।












प्रतिक्रिया