काठमाडौँ, २ भदौ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका झडपमा चार जनाको मृत्यु सुरक्षाकर्मीकै गोली लागेर भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा साउन १० गते भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। घटनामा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो। त्यस्तै, साउन १४ गते सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
यी दुवै घटनाको छानबिन गर्न गृह मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो। सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा गठित समितिले कप्तानगञ्ज र सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले गोलबजार घटनाको छानबिन गरेको थियो।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार दुवै समितिले चारै जनाको मृत्यु सुरक्षाकर्मीले चलाएको गोलीबाट भएको निष्कर्षसहित प्रतिवेदन बुझाएका छन्।
कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको छानबिनबाट खुलेको छ। त्यहाँ कुल २० राउण्ड गोली चलेको पाइएको छ। झडप नियन्त्रणका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ खटिएका थिए।
प्रहरीमाथि चिर्पट, ढुंगा, बाँस र लाठीबाट आक्रमण भएपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो। छानबिनका क्रममा इन्स्पेक्टर राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीले समेत गोली चलाउँदा मानवीय क्षति भएको निष्कर्ष निकालिएको हो।
सिरहाको गोलबजारमा भने सशस्त्र प्रहरीले गोली नचलाएको समितिको निष्कर्ष छ। प्रहरीका इन्स्पेक्टर सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको र सोही गोली लागेर गणेश यादवको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।
छानबिनका क्रममा गोलबजारमा सात राउण्ड डमी राउण्ड र पेस्तोलबाट दुई राउण्ड गोली चलेको भेटिएको गृह मन्त्रालयका अधिकारीले बताएका छन्। गणेशको मृत्युपछि प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर केसीलाई साउन १५ गते त्यहाँबाट हटाएको थियो।
छानबिन समितिले घटनामा लापरवाही गर्ने तथा सुरक्षा व्यवस्थापनमा त्रुटि गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्न सिफारिससमेत गरेको छ।
बाहिरबाट गोली चलेको प्रमाण भेटिएन
दुवै घटनामा प्रदर्शनकारीतर्फबाट समेत गोली चलेको भन्ने अफवाह फैलिएको भए पनि छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्यत्रबाट गोली चलेको प्रमाण नभेटिएको जनाएको छ।
लहानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सहायक हवल्दार नारद परियारको खुट्टामा गोली लागेको प्रहरीको दाबीसमेत छानबिनबाट पुष्टि नभएको समितिको निष्कर्ष छ।
समितिका अनुसार दुवै घटनामा बाहिरबाट हतियार प्रयोग भएको देखिएको छैन। समितिले घटनाको सामाजिक, धार्मिक तथा सुरक्षा पक्षको विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे समेत सुझाव दिएको छ। साथै, घटनामा संलग्न विभिन्न पक्षको भूमिकासमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।







प्रतिक्रिया