शीर्षक: बागमती एमालेमा सहमति, किरण थापा मुख्यमन्त्री बन्ने

काठमाडौँ, २ भदौ । नेकपा एमाले बागमती प्रदेशमा मुख्यमन्त्री चयनका विषयमा सहमति जुटेको छ। पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूबीच मंगलबार भएको छलफलले भक्तपुरका प्रदेश सांसद किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो।

सहमति अनुसार बागमती प्रदेश संसदीय दलको नेतामा भने जगन्नाथ थपलिया नै कायम रहनेछन्। प्रदेश सांसद केशव पोखरेलका अनुसार थापालाई मुख्यमन्त्री र थपलियालाई दलको नेताका रूपमा अघि बढाउने सहमति भएको हो।

यसअघि एमाले बागमती संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो। त्यसपछि पार्टीभित्र मुख्यमन्त्री परिवर्तनको विषयमा छलफल हुँदै आएको थियो।

पछिल्लो सहमतिअनुसार मंगलबार दिउँसो हेटौँडामा बसेको प्रदेश संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  १७ : ३६  बजे