काठमाडौं, २ भदौ । आज मधेश प्रदेशबाहेक देशका अधिकांश प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।
यस्तै, राति कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा भने हावाहुरीको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गएराति सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका धेरैजसो पहाडी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै खोटाङको ऐसेलुखर्कमा ५९ मिलिमिटर वर्षा मापन भएको छ ।












प्रतिक्रिया