पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो।

जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको आरोपमा प्रहरीले श्रेष्ठलाई गत साउन २७ गते पक्राउ गरेको थियो। त्यसयता उहाँ हिरासतमा रहनुभएको थियो।

सर्वोच्चको आदेशमा श्रेष्ठले समाचारमा प्रयोग गरेको तस्वीर जाहेरवाला आफैंले सामाजिक सञ्जालमा राखेको देखिएको र उक्त तथ्यलाई विपक्षीले खण्डन गर्न नसकेको उल्लेख गरिएको छ।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  २० : २०  बजे