बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

हेटौंडा, १ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ।

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गर्नुभएको हो।

राजीनामा दिनुअघि उहाँले आफ्नो एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लाग्नुभएको थियो। तर, आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीबाट मात्रै विश्वासको मत पाउने अवस्था बनेपछि उहाँले राजीनामा घोषणा गर्नुभएको हो।

विश्वासको मतको विपक्षमा नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमाले रहने तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए।

बानियाँ गत वर्ष साउन २० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। साउन २७ गते उहाँले प्रदेशसभाका ६३ सांसदको समर्थनमा विश्वासको मत प्राप्त गर्नुभएको थियो। उहाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री हुनुहुन्छ।

बानियाँअघि कांग्रेसका बहादुरसिंह लामाले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। कांग्रेसभित्रको आन्तरिक विवादपछि बानियाँ पक्षले संसदीय दलमा अविश्वास प्रस्तावमार्फत लामालाई हटाएको थियो।

अब बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नेकपा र नेकपा एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमतीमा एमालेले सरकारको नेतृत्व गर्ने तयारी छ।

तर, एमालेभित्र संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले दलको नेताको टुंगो लागेपछि मात्रै भावी मुख्यमन्त्रीको नाम निश्चित हुने देखिएको छ। किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्दै साउन २७ गते १६ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो।

हाल १०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

प्रकाशित मिति: १ भदौ २०८३, सोमबार  १४ : ३७  बजे