भोटेकोशी हेली रिसोर्टमा चिनबहादुर र समीर नेपालले मिलेर करोडौँ ठगी गरेको प्रमाण सार्वजनिक, निर्माण नै नभएको कामको बिल जारी

काठमाडौं, २९ साउन । भोटेकोशी हेली रिसोर्ट परियोजनामा निर्माण कार्यका नाममा चिनबहादुर रानाभाट र समीर नेपालले मिलेर करोडौँ रुपैयाँको ठगी गरेको प्रमाण सार्वजनिक भएको छ ।रिसोर्टमा करोडौँ रुपैयाँका भ्याटबिल जारी गरिएको विषयले गम्भीर प्रश्न उठाएको छ ।

रिसोर्ट परियोजनाका नाममा उनीहरूले निर्माण कार्य नै नगरेको कम्पनीका नामबाट जारी गरिएका भ्याटबिलहरू मार्फत सरकारी राजस्व ठगेका छन् । उनिहरूले नयाँ लगानीकर्तालाई भ्रामक वित्तीय विवरण देखाएर पैसा उठाएको तथ्यमा देखिन्छ ।

स्रोतका अनुसार परियोजनासँग सम्बन्धित कागजात सार्वजनिक गर्दै लगानीकर्ताहरूले निर्माण कार्यको वास्तविक प्रगति र जारी गरिएका कर बिजकबीच ठूलो असमानता रहेको दाबी गरेका छन्।

सार्वजनिक कागजातमध्ये हेम कन्स्ट्रक्सन प्रा.लि., जनकपुरधाम–४ को नाममा जारी गरिएको एउटा कर बिजकमा ‘Second Running Bill for construction of Resort Buildings & Swimming pool etc work’ उल्लेख छ ।

उक्त बिजकमा कामको रकम रु. ४ करोड ८ लाख ८१ हजार ९२५ उल्लेख गरिएको छ । त्यसमा १३ प्रतिशत करबापत रु. ५३ लाख १४ हजार ६५० रुपैयाँ २५ पैसा र करसहितको कुल रकम रु. ४ करोड ६१ लाख ९६ हजार ५७५ रुपैयाँ २५ पैसा देखिन्छ ।

कागजातमा कारोबार तथा बिजक जारी भएको मिति २०२१/०३/२७ उल्लेख गरिएको देखिन्छ । बिजकमा निर्माण कम्पनीका रूपमा हेम कन्स्ट्रक्सन प्रा.लि. र निर्माणसम्बन्धी कामको विवरण राखिएको छ ।

यसअघि यही परियोजनाको ‘First Running Bill’ शीर्षकमा करिब रु. ४ करोड १२ लाख १९ हजार ६५४ बराबरको अर्को बिल जारी गरिएको दाबी पनि स्रोतले जनाएको छ । यसरी दुईवटा रनिङ बिलमा मात्रै करिब रु. ८ करोड २१ लाख बराबरको रकम देखिएको स्रोतको दाबी छ।

तर, सार्वजनिक भएका विवरणअनुसार उक्त कम्पनीले भोटेकोशी हेली रिसोर्ट परियोजनामा उल्लेखित काम गरेको वा सोअनुसारको निर्माण प्रगति भएको देखिँदैन । यही कारण निर्माण कार्यको वास्तविक अवस्था, बिलको आधार, भुक्तानी प्रक्रिया र कर प्रयोजनमा पेश गरिएका कागजातबारे विस्तृत छानबिन आवश्यक रहेको छ ।

यो पनि पढ्नुहोस

विशेषगरी निर्माण कार्यको भौतिक प्रगति न्यून वा शून्य रहेको अवस्थामा करोडौँ रुपैयाँका ‘रनिङ बिल’ कसरी जारी भए भन्ने पनि प्रश्न उठेको छ । यदि कागजातमा उल्लेख भएको काम वास्तवमै नभएको पुष्टि भएमा त्यसबाट कर तथा राजस्वसम्बन्धी गम्भीर अनियमितता भएको हुन सक्ने देखिन्छ ।

यससँगै नयाँ लगानीकर्तालाई परियोजनाको वित्तीय अवस्था, लगानी र इक्विटीसम्बन्धी विवरण प्रस्तुत गर्दा समेत वास्तविक तथ्य लुकाइएको वा भ्रामक विवरण प्रयोग गरिएको हुन सक्ने देखिन्छ ।

यस प्रकरणबारे समाचार प्रकाशण नगर्न नेपाल पब्लिक प्रेसलाई समेत दबाब दिएका थिए । सञ्चारकर्मीलाई विभिन्न धम्कि समेत दिईएको भएपनि यी विषयमा नेपालपब्लिकप्रेससॅग सम्बन्धित प्रमाणसहित यो समाचार तयार गरेको हो ।

कर बिजकमा उल्लेख भएको रकम, निर्माण कार्यको वास्तविक अवस्था, भुक्तानीको स्रोत तथा कर विवरणमा यसको प्रयोगबारे आन्तरिक राजस्व विभाग, सम्बन्धित सरकारी निकाय तथा अन्य अनुसन्धान संस्थाले आवश्यक छानबिन गरेपछि वास्तविकता स्पष्ट हुनेछ ।

यस प्रकरणमा नाम जोडिएका चिनबहादुर रानाभाट, समीर नेपाल तथा सम्बन्धित कम्पनी पक्षको आधिकारिक प्रतिक्रिया सार्वजनिक रूपमा प्राप्त हुन बाँकी छ । उनीहरूको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समावेश गरिनेछ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार  १३ : २८  बजे