काठमाडौं, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनका विषयमा मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपत्कालीन छलफल गर्नुभएको छ।
बाढी प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाउनुभएको हो।
बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन सचिवहरूलाई निर्देशन दिनुभएको छ।
विशेषगरी विस्थापितका लागि निर्माण गरिएका राहत शिविर व्यवस्थित र सफा राख्न उहाँले जोड दिनुभएको छ। शिविरमा व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि उहाँले निर्देशन दिनुभएको छ।
त्यस्तै, बाढीबाट क्षतिग्रस्त सडक, विद्युत् तथा सञ्चार संरचना यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयले एकीकृत कार्ययोजनासहित काम अघि बढाउन प्रधानमन्त्री शाहले निर्देशन दिनुभएको छ।
बैठकमा विपद् व्यवस्थापन, उद्धार तथा राहतसँग प्रत्यक्ष सम्बन्धित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।












प्रतिक्रिया