काठमाडौं, १० भदौ । त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको छ । बाढीले विद्यालय परिसर नै डुबानमा परेपछि विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार विद्यालयमा कक्षा १२ सम्म १ हजार ६ सय ५० विद्यार्थी अध्ययनरत छन् । तर, बाढीपछि हालसम्म करिब १ सय विद्यार्थी मात्रै सम्पर्कमा आएका छन् ।
प्रधानाध्यापक दवाडीले विद्यालयमा देखिएका विद्यार्थीहरूलाई तत्काल बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको बताउनुभयो । उहाँका अनुसार आफू र एक जना कर्मचारी अन्तिममा विद्यालयबाट बाहिरिनुभएको थियो ।
“सूचना पाएपछि मैले विद्यालयमा देखेका विद्यार्थीलाई बाहिर निकालेर सुरक्षित ठाउँमा लगेँ । विद्यालयबाट म र एक जना कर्मचारी अन्तिममा निस्किएका हौँ,” उहाँले भन्नुभयो, “मसँग अहिले सय जना मात्रै विद्यार्थी छन् । उनीहरूलाई सुरक्षित ठाउँमा लैजाँदैछु । अरूको बारेमा थाहा छैन ।”
बिहान विद्यालयमा प्रार्थना चलिरहेका बेला बाढी आएको सूचना प्राप्त भएको थियो । त्यसपछि विद्यालयमा रहेका विद्यार्थीलाई तत्काल बाहिर निकालिएको थियो । तर, धेरै विद्यार्थी विद्यालय आउँदै गरेको वा घरमै रहेको हुन सक्ने भएकाले उनीहरूको वास्तविक अवस्था यकिन हुन नसकेको प्रधानाध्यापक दवाडीले बताउनुभयो ।
उहाँका अनुसार सम्पर्कमा नआएका विद्यार्थीको अवस्थाबारे सुरक्षा निकायबाट समेत अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।
बुधबार बिहान त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोटका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले त्रिशूली बजार आसपासका बस्ती तथा संरचनामा समेत व्यापक क्षति पुर्याएको छ ।
२००० सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नुवाकोटको पुरानो तथा महत्वपूर्ण शैक्षिक संस्था मानिन्छ । विद्यालयमा विगतमा धादिङलगायत आसपासका जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका थिए ।












प्रतिक्रिया