एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव

काठमाडौं, ९ भदौ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा बढीमा दुई कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा विधानबाट हटाइएको ७० वर्षे उमेर हद र मुख्य कार्यकारी पदमा दुई कार्यकालको सीमा पुनःस्थापित गर्नुपर्ने उल्लेख छ।

कार्यदलले यस्तो व्यवस्थाले नेतृत्व विकास र हस्तान्तरणलाई सहज बनाउनुका साथै पार्टीमा गतिशीलता ल्याउने र नयाँ पुस्तालाई अवसर प्रदान गर्ने जनाएको छ।

त्यस्तै, पार्टीमा ‘एक व्यक्ति एक पद’को नीति लागू गर्नुपर्ने सुझाव पनि कार्यदलले दिएको छ। एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री वा स्थानीय तहको प्रमुख हुन नपाउने तथा एकपटक प्रत्यक्ष वा राष्ट्रियसभा सदस्य भइसकेकालाई पुनः समानुपातिकतर्फ उम्मेदवार नबनाउने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ।

कार्यदलले पार्टीभित्र सामूहिक नेतृत्व र शक्तिको विकेन्द्रीकरणमा जोड दिँदै अध्यक्षकेन्द्रित शक्तिको केन्द्रीकरण कम गर्नुपर्ने बताएको छ। तल्ला कमिटीको अधिकार र भूमिकालाई विधान तथा व्यवहार दुवैमा विस्तार गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ।

निर्वाचनका उम्मेदवार छनोट प्रक्रियामा समेत सुधार गर्नुपर्ने कार्यदलको निष्कर्ष छ। सङ्घीय, प्रदेश तथा स्थानीय तहका उम्मेदवार चयनमा केन्द्रको भूमिका हावी भएको भन्दै स्थानीय कमिटीको सिफारिसलाई प्रमुख आधार बनाउनुपर्ने सुझाव दिइएको छ।

कार्यदलले स्थानीय कमिटीको सिफारिस वा पार्टीका सङ्गठित सदस्यहरूबीच आन्तरिक निर्वाचन अर्थात् ‘प्राइमरी इलेक्सन’मार्फत लोकप्रिय उम्मेदवार छनोट गर्ने विधि अपनाउनुपर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, अन्तिम समयमा उम्मेदवार फेरबदल गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि कार्यदलले जोड दिएको छ।

प्रकाशित मिति: ९ भदौ २०८३, मंगलबार  १७ : ५७  बजे