बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि मुक्का प्रहार, युवक पक्राउ

काठमाडौं, ९ भदौ । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक महिला प्रहरीलाई जथाभावी सडक पार गर्न खोजिरहेका युवकले मुक्का प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार सडक पार गर्न खोज्दा महिला प्रहरीले आकाशे पुल प्रयोग गर्न सुझाव दिनुभएको थियो। त्यसपछि ती युवकले महिला प्रहरीमाथि हातपात गरेको बताइएको छ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानीका २७ वर्षीय राजु कठायत रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ९ भदौ २०८३, मंगलबार  १६ : ०५  बजे