‘३६ देश चिनेको दाबी गर्ने अर्थमन्त्रीले आफ्नै देश चिन्न सकेनन्’ : सांसद संग्रौला

काठमाडौं, ८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६ देश चिनेको दाबी गरे पनि आफ्नै देशको अर्थतन्त्रलाई चिन्न नसकेको आरोप लगाउनुभएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले अर्थमन्त्री वाग्लेले पुँजीबजारमा देखिएको समस्या समाधान गर्नुभन्दा चिठ्ठा खेलाउनमा व्यस्त रहेको आरोप लगाउनुभयो।

उहाँले वर्तमान सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै अर्थमन्त्रीको आर्थिक नीतिमाथि प्रश्न उठाउनुभयो।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदासमेत व्यवसायी तथा लगानीकर्ता ऋण लिन इच्छुक नदेखिनुको कारण सरकारले ल्याएको आर्थिक नीतिप्रतिको अविश्वास हुनसक्ने उहाँको भनाइ थियो।

सांसद संग्रौलाले अर्थमन्त्रीले ल्याएको बजेटको कमजोरी पहिलो महिना सकिँदै देखिन थालेको दाबी गर्दै अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

प्रकाशित मिति: ८ भदौ २०८३, सोमबार  २० : ५२  बजे