रास्वपा पदाधिकारीमा संस्थापन पक्षबाट ६ जना मनोनीत, बालेन पक्षबाट दुई पद रिक्त

काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदाधिकारी टिममा ६ जनालाई मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा ६ जनालाई पदाधिकारीमा मनोनीत गरेको हो।

बैठकले पूर्वसञ्चारमन्त्री जगदीश खरेललाई प्रवक्ता, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष र जेनजी युवा पुरुषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिएको छ।

त्यस्तै, सुरेन्द्र चौधरी र नमिता यादवलाई सहप्रवक्ता तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षमा मनोनीत गरिएको छ। तामाङ यसअघि पनि सोही जिम्मेवारीमा हुनुहुन्थ्यो।

मनोनीत सबै पदाधिकारी रास्वपाको संस्थापन पक्षका रहेको बताइएको छ। बालेन शाह पक्षबाट भने हालसम्म कुनै पनि पदाधिकारी मनोनीत हुनुभएको छैन।

रास्वपामा अझै एक उपसभापति र एक महामन्त्री पदमा मनोनयन हुन बाँकी छ। बालेन पक्षबाट नाम नआएका कारण ती दुई पद रिक्त राखिएको जनाइएको छ।

प्रकाशित मिति: ५ भदौ २०८३, शुक्रबार  १६ : ४९  बजे