भ्याली ब्वाइज होस्टलमा युवक हत्या : फरार रहेका पटेल मकवानपुरबाट पक्राउ

काठमाडौं, ५ भदौ । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा २२ वर्षीय वसन्त कालाथोकीको हत्या प्रकरणमा फरार रहेका एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ का २० वर्षीय प्रमित पटेल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसेबाट पक्राउ गरिएको हो।

शंखमुलस्थित होस्टलमा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१७ का कालाथोकीमाथि धारिलो हतियार प्रहार गरी कुटपिट गरिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनामा पटेलसँगै संलग्न रहेको आरोपमा १८ वर्षीय शेखर यादवलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

फरार रहेका पटेललाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ भदौ २०८३, शुक्रबार  १६ : ४२  बजे