रोल्पा, ५ भदौ । रोल्पाको थबाङ गाउँपालिका–५, उवा गाउँका बाढीपहिरो प्रभावितले सडक अवरुद्ध भएका कारण पर्याप्त राहत सामग्री पाउन सकेका छैनन्।
गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरका अनुसार गाउँपालिकाले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याइरहेको भए पनि सडक अवरुद्ध हुँदा अन्य सङ्घसंस्था तथा निकायले राहत सामग्री प्रभावितसम्म पुर्याउन सकेका छैनन्।
गाउँपालिकाले भने भरियामार्फत सामग्री ढुवानी गरी प्रभावित परिवारलाई राहत वितरण गरिरहेको छ। प्रभावितका लागि तत्काल आवश्यक ओढ्ने–ओछ्याउने सामग्री, खाद्यान्न तथा लत्ताकपडालगायत सामग्री वितरण गरिएको अध्यक्ष बुढामगरले बताउनुभयो।
उवा पुग्ने मुख्य सडक विभिन्न स्थानमा पहिरोले भत्किएपछि राहत सामग्री फुलीवन, पोबाङ र माबाङमै रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउने प्रयाससमेत जोखिमपूर्ण बनेको उहाँले बताउनुभयो।
पहिरो तथा ढुंगा खस्ने जोखिमका कारण कतिपय स्थानमा पैदल मार्गसमेत प्रयोग गर्न कठिन भएको छ। सडक, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित बस्तीका नागरिकको जनजीवन थप कष्टकर बनेको छ।
कतिपय सङ्घसंस्थाले राहत सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेर फर्किएका छन्। तर सडक सम्पर्क नहुँदा ती सामग्री प्रभावित परिवारसम्म पुर्याउन समस्या भइरहेको जनाइएको छ।
गत साउन २७ गते थबाङ गाउँपालिका–५ उवामा बाढीपहिरो तथा साउन २८ गते राति सुनछहरी गाउँपालिका–२ भित्रीगामका विभिन्न स्थानमा पहिरोले जनधनको क्षति गरेको थियो। पहिरोबाट प्रभावित परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्।












प्रतिक्रिया