प्रधानमन्त्री बालेनका लागि पोखराको अन्नपूर्ण इको भिलेज बुक

पोखरा, ५ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पहिलोपटक पोखरा आउनुहुने भएको छ। मुस्ताङ भ्रमणका लागि पोखरा हुँदै जाने तयारीमा रहनुभएका प्रधानमन्त्री शाहको बसाइका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक गरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहको बसाइका लागि अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ। उहाँको सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन काठमाडौंबाट सुरक्षा टोलीसमेत अस्ताम पुगिसकेको रिसोर्ट स्रोतले जनाएको छ।

प्रधानमन्त्री शाह मुस्ताङ भ्रमणमा जानुहुने विषय बिहीबार सार्वजनिक भए पनि भ्रमणको औपचारिक कार्यक्रम र तालिका भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अझै पुगेको छैन।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्रधानमन्त्रीको भ्रमणबारे आफूले पनि सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो। उहाँका अनुसार भ्रमणको औपचारिक जानकारी र कार्यक्रम तालिका प्राप्त भएको छैन।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी नआएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री स्थलमार्ग हुँदै पोखरा आउनुहुने जानकारी भने प्राप्त भएको छ।

प्रधानमन्त्री शाह पोखरा आएपछि कहाँ–कहाँ जानुहुने र मुस्ताङमा कस्तो कार्यक्रम रहने भन्ने विवरण सार्वजनिक भइसकेको छैन।

अन्नपूर्ण इको भिलेज प्रकृति, ध्यान, योग र ग्रामीण पर्यटनलाई केन्द्रमा राखेर सञ्चालन गरिएको रिसोर्ट हो। परम्परागत शैलीमा ढुंगा र काठ प्रयोग गरी निर्माण गरिएका यहाँका संरचनाबाट अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ।

रिसोर्टमा सौर्य ऊर्जा, पानी पुनः प्रयोग गर्ने प्रविधि तथा स्थानीय स्रोतसाधनको प्रयोग गरिएको छ। आफ्नै प्राङ्गारिक फार्ममा उत्पादित फलफूल, तरकारी तथा अन्य खाद्यान्न पाहुनालाई उपलब्ध गराउने गरिएको जनाइएको छ।

प्रकाशित मिति: ५ भदौ २०८३, शुक्रबार  ११ : ४०  बजे