दुर्गा प्रसाईंको घरमा प्रहरीको छापा

काठमाडौं, ४ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ ।

बिहीबार अपराह्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो ।

लघुवित्त पीडितहरूले केही दिनदेखि काठमाडौंमा गर्दै आएको आन्दोलनलाई प्रसाईंले उक्साएको आरोप लाग्दै आएको छ । आन्दोलन थप विस्तार गर्ने तयारी भइरहेको सूचना पाएपछि प्रसाईंको घरमा आकस्मिक खानतलासी गरिएको अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले बताएका छन् ।

लघुवित्त पीडितहरू केही दिनदेखि ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि धर्नामा बसिरहेका छन् ।

प्रहरीले खानतलासीका क्रममा के–के बरामद गर्‍यो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: ४ भदौ २०८३, बिहिबार  १९ : २३  बजे