प्रधानमन्त्री कार्यालयमा थुनिएको विषयमा अख्तियार प्रमुख राईको जवाफ– ‘राहदानी प्रकरणमा कैफियत देखिएकाले नै मुद्दा चलाइएको हो’

काठमाडौं, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राहदानी प्रकरणमा पर्याप्त कैफियत देखिएपछि मात्रै आयोगले मुद्दा दायर गरेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर थुनेको विषय उठाएपछि प्रमुख आयुक्त राईले त्यसबारे जवाफ दिनुभएको हो ।

राईका अनुसार प्रधानमन्त्रीले छलफल तथा सुझावका लागि अख्तियारका पदाधिकारीलाई बोलाउन सक्ने र आफूहरू पनि सोही क्रममा छलफलमा सहभागी हुनुभएको हो । छलफलका क्रममा आवश्यक सुधारका विषयमा सुझाव दिइएको उहाँले बताउनुभयो ।

राहदानी प्रकरणमा आयोगले प्रमाण र देखिएका कैफियतका आधारमा अभियोजन अघि बढाएको उहाँको दाबी छ । मुद्दा दर्ता भई अभियोजनसमेत भइसकेकाले अब त्यसको कानुनी पक्ष सम्बन्धित निकायबाटै टुंगो लाग्ने उहाँले बताउनुभयो ।

‘पासपोर्टको विषयमा प्रधानमन्त्रीज्यूले सम्बन्धित पक्षलाई छलफल र सुझावका लागि बोलाउनुभएको हुनसक्छ। हामी पनि त्यसैगरी छलफलमा सहभागी भएका हौँ। छलफलपछि सुधार गर्नुपर्ने विषय पहिचान भयो र त्यसअनुसार केही सुधार पनि गरियो,’ राईले भन्नुभयो ।

अभियोजन बिना आधार वा कैफियतबिना अघि नबढाइएको उहाँले स्पष्ट पार्नुभयो । अभियोजनपत्रमै मुद्दा अघि बढाउनुका आधार र देखिएका कैफियत उल्लेख रहेको उहाँको भनाइ छ ।

‘यस विषयमा मुद्दा दर्ता भइसकेको र अभियोजनसमेत भइसकेकाले अब त्यसको कानुनी पक्ष सम्बन्धित निकायले नै हेर्ने विषय हो। अभियोजनपत्रमै के–कस्ता कैफियतका आधारमा मुद्दा अघि बढाइएको हो भन्ने स्पष्ट उल्लेख हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रकरण कानुनी प्रक्रियामा प्रवेश गरिसकेकाले यसबारे थप विस्तृत टिप्पणी गर्न आवश्यक नरहेको प्रमुख आयुक्त राईले बताउनुभयो ।

प्रकाशित मिति: ४ भदौ २०८३, बिहिबार  १९ : २०  बजे