उच्च अदालत पाटनको आदेश– पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नू

काठमाडौं, भदौ ३ । उच्च अदालत पाटनले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न तथा धरपकड नगर्न प्रहरीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अच्युत कुइँकेलको एकल इजलासले बुधबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म श्रेष्ठलाई पक्राउ नगर्न, धरपकड नगर्न र थुनामा नराख्न आदेश दिएको हो ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर जिल्ला प्रहरी परिसर ललितपुरले आफूलाई पक्राउ गर्न सक्ने आशंका जनाउँदै पत्रकार श्रेष्ठले मंगलबार उच्च अदालत पाटनमा निषेधाज्ञाको मागसहित रिट निवेदन दायर गर्नुभएको थियो ।

रिटमाथि निवेदकका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो । रिटमा श्रेष्ठले वैयक्तिक स्वतन्त्रताको हकसमेत संरक्षण गर्न माग गर्नुभएको थियो ।

अदालतले आदेशमा सञ्चारमाध्यममा प्रकाशित सामग्रीकै आधारमा पत्रकारलाई पक्राउ गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकविपरीत हुन सक्ने उल्लेख गरेको छ ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारका विषयमा प्रेस काउन्सिल नेपालमा उजुरी परेको र काउन्सिलले त्यस विषयमा कारबाही अघि बढाइसकेको तथ्यलाई समेत अदालतले आदेशको आधार बनाएको छ ।

उपसभामुख रुवीकुमारी ठाकुरले आफ्नो विषयमा जनआस्थामा प्रकाशित समाचारलाई लिएर ललितपुर प्रहरीमा उजुरी दिनुभएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आफूलाई गैरकानुनी रूपमा पक्राउ तथा धरपकड गर्न सक्ने दाबी गर्दै श्रेष्ठ अदालत पुग्नुभएको हो ।

यसअघि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न पर्याप्त कागज तथा प्रमाण नपुगेको भन्दै प्रहरीको माग दुईपटक अस्वीकार गरिसकेको थियो ।

प्रकाशित मिति: ३ भदौ २०८३, बुधबार  २० : ३९  बजे