हवाइफायर गरेर १३ किलो अफिमसहित दुई जना पक्राउ

काठमाडौं, २ भदौ । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलोभन्दा बढी अफिम र चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र सुर्खेतबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुमपश्चिमका टोपजङ्ग भनिने टाइपसिंह गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार उनीहरूको साथबाट १३ किलो ६४ ग्राम अफिम, १४८ ग्राम चरेस, एक थान डिजिटल तराजु र नगद ५ हजार रुपैयाँ बरामद भएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउन्ड हवाइफायरसमेत गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २ भदौ २०८३, मंगलबार  ०८ : ४९  बजे