काठमाडौं, २ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री निवासमा सोमबार भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो ।
विश्वासको मतबारे छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ । संसदीय दलको बैठकबाट विश्वासको मत लिने विषयलाई औपचारिकता दिने तयारी रहेको मुख्यमन्त्रीसँग छलफलमा रहेका एक सांसदले बताउनुभएको छ ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।
हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
मन्त्रिपरिषद् विस्तार तथा विश्वासको मतका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच छलफल भएको थियो ।
यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मत लिने विषयमा छलफल भएको थियो ।







प्रतिक्रिया