काठमाडौं, १ भदौ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको हो।
सभामुख अर्यालले लामो समयदेखि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग हुँदै आएको विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो।
उहाँले नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको हो।
सभामुखले रुलिङ गरेपछि पनि विपक्षी दलका सांसदहरू बैठकमा नबसेपछि उहाँले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।
‘सरकार, प्रधानमन्त्रीको नाममा रुलिङ गरिसकेको छु । त्यसकारण माननीय सदस्यहरूले बसेर सभा सञ्चालनका लागि सहयोग गरौँ,’ सभामुख अर्यालले भन्नुभयो।
त्यसपछि विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानमा बसेका थिए।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्नुपर्ने व्यवस्था छ।
कुनै कारणले निर्धारित दिन बैठक बस्न नसके त्यसपछि बस्ने बैठकको पहिलो एक घण्टामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था नियमावलीमा छ।
यस्तै, प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी सभामुखलाई दिनुपर्ने व्यवस्था छ। प्राप्त प्रश्न स्वीकार्य भए वा नभएको निर्णय गर्ने अधिकार सभामुखलाई दिइएको छ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा छलफल भने गर्न नपाइने व्यवस्था नियमावलीमा रहेको छ।












प्रतिक्रिया