थानाभञ्ज्याङ बस दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं, ३० साउन ।नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस र ईभी भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीका अनुसार शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेपछि दुर्घटना भएको हो।

काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा ४ ख ००५२ नम्बरको बस सडकछेउमा रोकिएको थियो। चालक र यात्रुहरू खाजा खान गएको अवस्थामा बस आफैं गुडेर सडकमा रोकिराखेको बा ३ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करपछि बस र भ्यान सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए।

दुई जनाको मृत्यु

दुर्घटनामा बसमा सवार काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।

घाइते हुनेमा लालबन्दी–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।

पोखरेलको दाहिने हात, श्रेष्ठको बायाँ हात तथा ज्ञानु श्रेष्ठको टाउको र ढाडमा चोट लागेको छ। तीनै जनाको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस रोकिएको समयमा यात्रुहरू खाजा खान गएकाले बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस चालक काभ्रेपलाञ्चोकको पाँचखाल–७ का ४५ वर्षीय सीताराम आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार  १२ : ०४  बजे