मन्त्रीको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा विद्यार्थीको प्रदर्शन

काठमाडौँ, ३० चैत्र । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरूको सम्पत्तिको वैध स्रोत सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। सोमबार अखिल क्रान्तिकारी ले माइतीघर मण्डला मा प्रदर्शन गर्दै मन्त्रीहरूले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणको स्रोत स्पष्ट रूपमा छानबिन गर्नुपर्ने माग गरेको हो।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “आय स्रोत खुलाउनुस्”, “मन्त्रीहरूले सार्वजनिक गर्नुभएको सम्पत्तिको स्रोत छानबिन गरियोस्”, “हामी चुप लागेर बस्दैनौँ”, “आय स्रोत खुलाउनै पर्छ” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

अखिल क्रान्तिकारी की उपाध्यक्ष ममता अधिकारीले सरकारका मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक देखिएकाले त्यसको वैध स्रोत सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले संसद्मा प्रतिपक्ष कमजोर देखिएकाले विद्यार्थी संगठनले सडकबाट जनताको आवाज उठाउन बाध्य भएको धारणा राख्नुभयो।

यसअघि आइतबार प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको भए पनि त्यसको आयस्रोत स्पष्ट नभएको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार  १६ : ५८  बजे